काठमाडौँ । मन्त्री कुलमान घिसिङले काठमाडौँको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरि समझदारी जुटाएका छन्।
यससँगै बञ्चरेडाँडाका स्थानीय बासिन्दाहरुले करिब एक सातादेखि फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ।
ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईका अनुसार मन्त्री घिसिङ आज बञ्चरेडाँडा पुग्नु भएको थियो भने ,घिसिङले गर्न सकिने कामहरू करिब १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । १५ दिनभित्र गर्न सकिने कामका सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाउने कुरा भएको छ।’
उनका अनुसार मन्त्रालयमा वार्ता आजै हुने बताएका छन् । वार्तामा तत्काल गर्न सकिने कामहरूबारे छलफल हुने र सूची तय गरिने पनि उनले जानकारी दिए ।
उक्त वार्तामा ककनी गाउँपालिका वडा नम्बर १, २, ३, धुनिवेशी नगरपालिका १ का जनप्रतिनिधिसहित स्थानीय बासिन्दा सहभागी हुनेछन्। स्थानीयहरूले बन्चरेडाँडा वरपर २५ सय मिटरको मध्यवर्ती क्षेत्र तय गर्नुपर्ने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत माग गर्दै आएका छन्।
यसअघि पनि गरिएका समझदारी कुनै पनि पूरा नभएको भन्दै स्थानीयले गत मंगलबारदेखि काठमाडौं उपत्यकासहित करिब २२ स्थानीय तहले फाल्दै आएको फोहोरमा अवरोध गरेका थिए। आज समझदारी बनेपछि बाटोमा रोकिएका करिब १५० ट्रक बन्चरेडाँडातर्फ अघि बढेका छन्। काठमाडौं र आसपासका स्थानीय तहबाट दिनहुँ करिब १२ सय टन फोहोर बन्चरेडाँडा लगिने गरेको छ।
हाल बन्चरेडाँडामा फोहोर वर्गीकरण नगरी व्यवस्थापन गरिँदै आएको छ। यसले ल्याण्डफिल साइट भरिने अवस्थामा पुगेको र त्यहाँ रहेका लिचेड पोखरी भरिएको र कोल्पुखोलामा मिसिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।






