काठमाडौँ– जेन*जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल राजीनामा दिन माग गरेका छन्। उनी सामाजिक सञ्जालमार्फत सार्वजनिक कडा सन्देशमा सरकार र गृहमन्त्रीको निष्क्रियता, भ्रष्टाचारविरुद्ध कमजोरी, र न्यायमा ढिलासुस्तीबारे तीव्र आलोचना गरेका छन्।

गुरूङले लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा बस्नु राष्ट्रप्रति अपमान हो।” उनले गृहमन्त्रीलाई जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल जिम्मेवारी छोड्न आग्रह गरेका छन्।

उनले थप भनेका छन्, “अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भयो, न कुनै हत्यारा पक्राउ। यो मौनता अपराधको समर्थन हो।” गुरूङले आफूलाई विगतमा भ्रामक समाचार र चरित्र हत्या अभियानले लक्षित गरेको दाबी गर्दै भनेका छन्, “मलाई केही फरक पर्दैन, तर अब तपाईँ (गृहमन्त्री) बाट आशा सकिएको छ।”

उनको भनाइमा यो आन्दोलन राजनीतिक सौदाबाजी होइन, राष्ट्रको भविष्य सुरक्षित गर्न युवाहरूको आवाज हो। उनले चेतावनी दिंदै भनेका छन्, “८४ को चुनाव ८२ मा सार्नका लागि यो आन्दोलन होइन। यदि नेपाली जनता र जेन्जीका माग सम्बोधन भएनन् भने, यसपालिको चुनाव हुन दिइने छैन।”