काठमाडौं । जेनजी आन्दोलनपश्चात विभिन्न भौतिक संरचना ध्वस्त भएका छन् र त्यसबाट भएको क्षतिको निष्पक्ष मूल्यांकनमा बीमा सर्भेयरको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो। बीमा सर्भेयरले बीमा कम्पनी र बीमित (संपत्ति वा जीवन बीमित) बीच निष्पक्ष मध्यस्थको रूपमा काम गर्दै, जलेका घर, सवारी साधन, व्यापार तथा जीवन बीमा सम्बन्धी दाबीहरूको वस्तुगत मूल्यांकन गरेको थियो।

विशेष गरी, सर्भेयरहरूले बीमक र बीमित दुवै पक्षको हितलाई ध्यानमा राखेर क्षतिको निष्पक्ष मूल्यांकन गरी निर्णय गर्न मद्दत पुर्‍याएका छन्। उनीहरूले तयार पारेका रिपोर्ट र कागजातहरूले बीमा दावी प्रक्रियामा पारदर्शिता र विश्वास कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

सोही सन्दर्भमा, बीमा सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालसँग आर्थिक भ्वाइसले गरेको संवादको सम्पादित अंश प्रस्तुत गरिएको छ।

हालै भएको जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको थियो। त्यस समयमा सर्भेयरहरूको भूमिका के थियो र तपाईंहरूले कसरी जिम्मेवारी निर्वाह गर्नुभयो ?

जेनजी आन्दोलनको कठिन परिस्थितिमा सर्भेयर साथीहरूले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गरेका थिए। कतिपय सर्भेयरले काम पाए, कतिपयले पाएनन्, जुन बीमा प्रणालीको संरचनासँग सम्बन्धित विषय हो। बीमा दाबीमा सर्भेयरको नियुक्ति बीमा कम्पनीको विवेकमा निर्भर हुन्छ। कम्पनीले आफूलाई सहज लाग्ने सर्भेयरलाई जिम्मेवारी दिन्छ।

यद्यपि हामीले कहिल्यै पनि बीमितलाई अन्याय गर्ने काम गरेका छैनौँ। नियम-कानुन र बीमा पोलिसीअनुसार क्षतिपुर्ति व्यवस्था हुने कुरा दुवै पक्षले स्वीकार गर्नुपर्छ। आन्दोलनपछि, बीमा प्राधिकरणले बीमक संघ र सर्भेयर संघलाई बोलाएर सुझाव संकलन गरेको थियो। हामीले सर्भे प्रक्रिया सरल बनाउन, अत्यावश्यक कागजात मात्र माग्ने, बाँकी व्यवस्थापन बीमा कम्पनीले गर्ने जस्ता सुझावहरू दिएका थियौँ।

साथै सर्भेयरहरूको संख्या बढेकाले सबैलाई समान रूपमा काम पुग्ने गरी चक्र प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि राखियो। समग्रमा, आन्दोलनको दुखद घडीमा सर्भेयरहरूको भूमिका उल्लेखनीय रह्यो। उनीहरूको उपस्थितिले मात्र पनि बिमीतलाई राहत महसुस भयो। त्यसका लागि म सम्पूर्ण सर्भेयर साथीहरूलाई धन्यवाद दिन चाहन्छु।

आन्दोलनमा भएका क्षतिको सम्पूर्ण विवरण बुझाइसकिएको छ कि अझै बाँकी छन् ?

अझै बाँकी छन्। विशेषगरी ठूला ठूला केसहरू बाँकी छन्। केही सवारी साधन काठमाडौँ बाहिर पनि जलेका छन्। देशभरका सर्भेयरहरू पुगेर सर्भे गर्दा चुनौतीहरू छन्। त्यसकारण सर्भे प्रक्रिया ढिला भएको छ।

कतिपय अवस्थामा कागजातहरू आगलागीमा नष्ट भएका छन्, जसले प्रक्रिया थप जटिल बनाएको छ। यस्ता अवस्थामा सर्भेयरले भौतिक क्षति देखेर रिपोर्ट गर्न सक्छ, तर बीमा भएको–नभएको पुष्टि पोलिसीका आधारमा गर्नुपर्छ। बीमा नभएको सम्पत्तिमा कम्पनीको दायित्व हुँदैन।

सरकारी सवारी साधन तथा सम्पत्तिहरूको बीमा अवस्थाबारे तपाईंको अनुभव के छ ?

केही मन्त्रालयअन्तर्गतका सवारी साधनमा बीमा गरिएको पाइयो, तर अझै पनि धेरै सरकारी सम्पत्तिहरू पूर्ण बीमामा छैनन्। समस्या के हो भने कतिपय सवारी साधन वास्तविक मूल्यभन्दा फरक मूल्यमा बीमा गरिएका छन्।

पूर्ण मूल्यमा बीमा नगरिँदा टोटल लसको अवस्थामा बीमितले दोहोरो मार भोग्नुपर्छ। एउटा त सवारी साधनको वास्तविक मूल्य नपुग्ने, अर्को भविष्यमा सोही नोक्सानीको उपयुक्त क्षतिपूर्ति नपाउने। यसले सार्वजनिक बजेट र प्रशासनिक व्यवस्थापनमा समस्या ल्याउँछ।

मेरो स्पष्ट सुझाव छ सरकारी तथा निजी दुवै क्षेत्रले सम्पत्तिलाई वास्तविक बजार मूल्यमा बीमा गर्नुपर्छ, र आवश्यक परे तेस्रो पक्षीय बीमासँगै पूर्ण कभर पनि लागू गर्नुपर्छ। यसले आर्थिक जोखिम घटाउँछ र सम्पत्तिको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्छ।

क्षति मूल्यांकन गर्दा तपाईंहरूले कस्ता चुनौतीहरू सामना गर्नुभयो ? कुनै दबाब आयो ?

सरकारी निकायबाट खासै दबाब आउँदैन। व्यक्तिगत तर्फबाट पनि दबाब भन्दा अपेक्षा बढी हुन्छ। हामी बीमा निर्देशिका र गाइडलाइनअनुसार निष्पक्ष रूपमा मूल्यांकन गर्छौं। सर्भेयरको भूमिका बीमित र बीमक दुवैको हित सन्तुलनमा राख्नु हो। हाम्रो अनुभवमा चुनौतीहरू प्राविधिक र व्यवस्थापनसँग सम्बन्धित हुन्छन्। निजी पक्षबाट कहिलेकाहीँ अपेक्षा रहन्छ, तर यसलाई दबाब भन्दा बढी उच्च स्तरको अपेक्षा भनेर लिन सकिन्छ।

बीमा नगर्ने नागरिकहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

बीमा व्यक्तिको मात्र होइन, राष्ट्रको सुरक्षासँग पनि जोडिएको विषय हो। मलाई लाग्छ सरकारले कर तिर्ने, मालपोत नवीकरण, सवारी दर्ता, घर मूल्यांकन जस्ता सेवामा बीमा अनिवार्य गर्ने नीति ल्याउनुपर्छ। बीमाको दायित्व सरकारले लिनुपर्छ। एक जना नागरिकले आफ्नो मिहेनतले जोडेका सम्पत्तिको संरक्षणमा सरकार अग्रसर हुनुपर्छ। बीमा नगरेमा, टोटल लसको अवस्थामा नागरिक दोहोरो मारमा पर्छ।

बीमा जोखिम हस्तान्तरण हो, जसले मानसिक शान्ति दिन्छ। पूर्ण मूल्यमा बीमा भएमा क्षतिको समयमा पुनःस्थापना सहज हुन्छ। त्यसैले म सबैलाई बीमा गर्न प्रेरित गर्न चाहन्छु।

सर्भेयर बन्न चाहने युवाहरूका लागि तपाईंको सुझाव के छ ?

यो पेशा चुनौतीपूर्ण तर सम्मानजनक छ। यसमा अनुभव, इमानदारी र प्राविधिक ज्ञान अत्यावश्यक हुन्छ। हरेक केस फरक हुन्छ, त्यसैले धैर्य र निरन्तर अध्ययन जरुरी छ। सर्भेयरले बीमित र बीमक दुवैको हितमा निष्पक्ष निर्णय गर्नुपर्छ। जानाजानी गल्ती गर्नु हुँदैन।

प्रत्येक दिन नयाँ केस, सुक्ष्म अनुसन्धान र चुनौतीपूर्ण अवस्था आउँछ। यदि इमानदारीपूर्वक काम गरियो भने सर्भेयरको पेशा सम्मानजनक र सम्भावनाशील हुन्छ।

अन्त्यमा कुनै सन्देश दिन चाहनुहुन्छ ?

बीमा क्षेत्र ठूलो र संवेदनशील क्षेत्र हो। बीमा प्राधिकरण, बीमक, अभिकर्ता र सर्भेयर सबैको साझा जिम्मेवारी हो। पीडितलाई समयमै न्याय मिल्ने प्रणाली विकास गर्नुपर्छ। म सबैलाई आग्रह गर्न चाहन्छु ‘बीमा गर्नुहोस्। बीमा तपाईं, तपाईंको परिवार र राष्ट्रकै सुरक्षा हो। आर्थिक, मानसिक र दीर्घकालीन सुरक्षाका लागि बीमा अनिवार्य छ।’