काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलपछि भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोको शासन उल्टिएको घटनासँगै विश्व अर्थतन्त्रको भविष्यलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो र बहस चुलिएको छ। दक्षिण अमेरिकाको तेलसम्पन्न राष्ट्र भेनेजुएलामा लामो समयदेखि कायम राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय प्रतिबन्धले पुनः विश्व बजारको ध्यान तानेको हो।

पछिल्लो समय निर्वाचन विवाद, विपक्षीमाथिको दबाब तथा अमेरिका–पश्चिमी मुलुकहरूको कडा अडानका कारण भेनेजुएला प्रकरणले अन्तर्राष्ट्रिय बजारमा बहुआयामिक प्रभाव पार्ने अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूको आकलन छ। विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा राजनीतिक अस्थिरता र अमेरिकी प्रतिबन्धका कारण उत्पादन र निर्यात क्षमता लामो समयदेखि कमजोर बन्दै आएको छ। यदि प्रतिबन्ध थप कडा भए वा तेल निर्यातमा पुनः अवरोध आयो भने कच्चा तेलको आपूर्ति घट्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर हुने जोखिम देखिन्छ।

यद्यपि भेनेजुएला र नेपालबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भइसकेको छ। तर दुवै देशले एक–अर्काको राजधानीमा हालसम्म दूतावास स्थापना गरेका छैनन्। कूटनीतिक सम्बन्ध न्यून स्तरको भए पनि व्यापारिक सम्पर्क भने निरन्तर देखिन्छ।

चालु आर्थिक वर्षमा साढे ७० लाख रुपैयाँको व्यापार

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल र भेनेजुएलाबीच ७० लाख ८८ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। यस अवधिमा नेपालले भेनेजुएलाबाट ३९ लाख २९ हजार रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने ३१ लाख ५९ हजार रुपैयाँबराबरका विभिन्न सामग्री निर्यात गरेको छ।

चालु आर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ३९ लाख २२ हजार रुपैयाँबराबरको ५ हजार १४८ किलो काजु आयात गरेको छ। साथै ७ हजार रुपैयाँबराबरको सवारीसाधनको सिट तथा खाद्यान्न परिकार पनि आयात भएको छ। सोही अवधिमा नेपालले भेनेजुएलामा ३१ लाख ५९ हजार रुपैयाँबराबरको ३६२ किलो एन्टिबायोटिक औषधि निर्यात गरेको छ। यस अवधिमा नेपालले भेनेजुएलासँगको द्विपक्षीय व्यापारबाट ७ लाख ७० हजार रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको छ।

गत आर्थिक वर्षमा १ करोड ३४ लाखको कारोबार

गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल र भेनेजुएलाबीच कुल १ करोड ३४ लाख ७१ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो। सो अवधिमा नेपालले भेनेजुएलाबाट ७६ लाख २२ हजार रुपैयाँबराबरको आयात गरेको थियो भने ५८ लाख ४९ हजार रुपैयाँबराबरको निर्यात भएको थियो।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ५३ लाख ३६ हजार रुपैयाँबराबरको ५० हजार किलो गेडागुडी, ११ लाख ४३ हजार रुपैयाँबराबरको १०० थान स्क्यानर तथा ४ लाख ६९ हजार रुपैयाँबराबरको ४ थान प्रिन्टर मेसिन आयात गरेको थियो। उता नेपालबाट ५७ लाख ४१ हजार रुपैयाँबराबरको ६६९ किलो विभिन्न प्रकारका एन्टिबायोटिक औषधि खुद्रामा बिक्रीका लागि भेनेजुएलामा निर्यात गरिएको थियो। यसबाहेक १ लाख रुपैयाँबराबरको ६५ किलो अगरबत्ती पनि निर्यात भएको थियो।

गत आर्थिक वर्षमा नेपालले भेनेजुएलासँगको द्विपक्षीय वैदेशिक व्यापारमा १७ लाख ७३ हजार रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको थियो।

सीमित सम्बन्ध, तर निरन्तर सम्पर्क

यद्यपि नेपाल–भेनेजुएला सम्बन्ध राजनीतिक र कूटनीतिक रूपमा न्यून स्तरको देखिए पनि सीमित दायरामा भए पनि व्यापारिक सम्बन्ध भने कायम रहेको देखिन्छ। अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तन र विश्व बजारको अस्थिरताबीच यस्ता साना तर निरन्तर व्यापारिक सम्पर्कलाई दुवै देशका सम्बन्धको आधार मान्न सकिन्छ।