काठमाडौँ । बजारमा पुराना, फुटेका, टालिएका तथा बिग्रिएका जार प्रयोग गरेर प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासो बढेपछि सरकारले त्यस्तो अभ्यास रोक्न कडा निर्देशन जारी गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै कमसल र क्षतिग्रस्त जार प्रयोग गरी पानी बिक्री भइरहेको गुनासो बढेपछि तत्काल त्यस्तो अभ्यास बन्द गर्न आग्रह गरेको हो।

गर्मी र वर्षायाममा झाडापखाला लगायत पानीजन्य रोगको जोखिम बढ्ने भएकाले स्वच्छ पानी आपूर्तिमा विशेष ध्यान दिनुपर्ने विभागको भनाइ छ। अपारदर्शी, चुहिने, टालिएका वा बिग्रिएका जारमा पानी भरेर बिक्री गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताइएको छ।

विभागले यस्तो कार्य नगर्न र नगराउन उत्पादक, ढुवानीकर्ता तथा विक्रेतालाई सचेत गराउँदै निर्देशनको अवज्ञा भएमा नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार कारबाही हुने स्पष्ट पारेको छ।

साथै, प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, खाद्य नियमावली २०२७ र सम्बन्धित निर्देशिकाको पूर्ण पालना अनिवार्य रहेको पनि विभागले जनाएको छ।