काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्दै आर्थिक समृद्धिको आधार मजबुत बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालय र लगानी बोर्ड नेपालको संयुक्त आयोजनामा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा कार्यरत नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग गरिएको उक्त संवाद आर्थिक कूटनीतिलाई अझ प्रभावकारी, संगठित र परिणाममुखी बनाउने लक्ष्यमा केन्द्रित थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको वर्तमान आर्थिक अवस्था र विकास आवश्यकतालाई मध्यनजर गर्दै विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई वैदेशिक लगानी आकर्षणलाई प्राथमिक कार्यसूचीमा राख्न स्पष्ट निर्देशन दिएका थिए। उनले नेपालमा पर्याप्त वैदेशिक लगानी भित्र्याउन आर्थिक कूटनीतिलाई मूल प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सोही उद्देश्य अनुरूप सबै कूटनीतिक गतिविधि योजनाबद्ध र लक्ष्यकेन्द्रित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

त्यसैगरी, परराष्ट्र सचिव अमृतबहादुर राईले परम्परागत कूटनीतिक अभ्यासको सीमाभन्दा माथि उठेर आर्थिक कूटनीतिलाई सुदृढ, सक्रिय र संस्थागत बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार विदेशस्थित नेपाली नियोगहरूले लगानी प्रवर्द्धन, निजी क्षेत्रसँगको सहकार्य र सम्भावित लगानीकर्तासँगको सम्पर्क विस्तारमा अझ रणनीतिक भूमिका निर्वाह गर्नुपर्ने समय आएको धारणा राखेका हुन् ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनीराम शर्माले नेपाल सरकारद्वारा अवलम्बन गरिएका लगानीमैत्री नीतिहरू, प्राथमिकता प्राप्त क्षेत्रहरू तथा लगानीकर्तालाई प्रदान गरिने विभिन्न सहुलियत र प्रोत्साहनबारे विस्तृत जानकारी दिएका छन्। उनले नेपाललाई सुरक्षित, सम्भावनायुक्त र आकर्षक लगानी गन्तव्यका रूपमा विश्वसमक्ष प्रस्तुत गर्न कूटनीतिक नियोगहरूको भूमिका निर्णायक रहने उल्लेख गरेका छन् ।

उक्त अन्तरक्रियाले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरू र लगानी बोर्ड नेपालबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा परराष्ट्र मन्त्रालय र लगानी बोर्डका वरिष्ठ अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसले नेपाल सरकार वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ।