काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक अवस्था तथा दायित्व मूल्यांकनसम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते स्वीकृत भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सावधिक तथा आजीवन जीवन बीमालेखमा बीमा अवधिका आधारमा न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गरिने छ । यस्तै, सावधिक जीवन बीमालेखमा प्रतिहजार बीमांकमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।
बालबालिकाका लागि जारी गरिएको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस कायम गरिएको छ भने सामूहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ तथा भविष्य निधि योजनामा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिइनेछ । बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस तथा वार्षिक भुक्तानी योजनामा रिभर्सनरी बोनस ३८ रुपैयाँदेखि ५६ रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ प्रदान गरिनेछ । यस्तै, एशियन सावधिक प्लस र सुखी जीवन प्लस योजनामा रिभर्सनरी बोनस ४२ रुपैयाँदेखि ६० रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ कायम गरिएको छ ।
कम्पनीका अनुसार यो बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरिएका जीवन बीमालेखहरूमा लागू हुनेछ । यस अन्तर्गत मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू अवस्थामा रहेका बीमालेखमा समेत यो बोनसदर लागू हुनेछ ।









