काठमाडौं। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढ्दै ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको मंसिर महिनामा भने १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो, जसले वार्षिक आधारमा उल्लेखनीय वृद्धि देखाएको छ।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३।४ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीतर्फ हेर्दा, समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ। साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेका थिए ।








