काठमाडौँ। वाणिज्य बैंकहरुको नाफा घटेको छ। जेनजी आन्दोलनको प्रभाव र त्यसपछि देखा परेको अधिक तरलताको अवस्थाले बैंकहरुको मुनाफा १४.९५ प्रतिशतले घटेको हो।

वाणिज्य बैंकहरुले चालु आवको ५ महिनासम्ममा २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ नाफा कमाएका नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आवको ५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ६ वाणिज्य बैंकको नाफा मात्रै गत आवको तुलनामा बढेको छ भने १४ बैंकको नाफा भने घट्न पुगेको छ ।

आन्दोलनपश्चात् वाणिज्य बैंकहरुको नाफामा संकुचन देखिएको छ । विशेषतः घट्दो ब्याजदर र उद्योग व्यवसाय, रियल स्टेट, सेयर कारोबारमा सुस्तता देखिएसँगै कर्जाको माग बढ्न नसक्दा बाणिज्य बैंकहरुको नाफा प्रभावित बन्न पुगेको छ ।

बजारमा अधिक तरलताका कारण व्याजदरमा गिरावट र कर्जा असुली हुन नसक्दा बैंकहरुको खराब कर्जा बढेर नाफा घटेको देखिन्छ। सबैभन्दा धेरै नाफा घट्नेमा सिटिजन्स बैंक रहेको छ । बैंकको नाफा ६४.९२ प्रतिशतले घटेको छ ।