काठमाडौं। पछिल्ला दिनहरूमा शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। दैनिक कारोबारमा सूचकको अस्थिर चाल, सेयर मूल्यमा आएको अनिश्चित उतारचढाव र कारोबार रकमको घटबढले बजारको दिशा स्पष्ट हुन सकेको छैन।
बजारको यस अस्थिरता पछाडि मौद्रिक नीतिको प्रभाव, ब्याजदरको अवस्था, बैंक तथा वित्तीय संस्थाको तरलता, विदेशी तथा संस्थागत लगानीकर्ताको गतिविधि र समग्र आर्थिक वातावरण प्रमुख कारणहरू रहेको विश्लेषकहरूको भनाइ छ। हालैको अवधिमा ब्याजदर क्रमशः घट्दो क्रममा रहे पनि त्यसको प्रभाव सेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन।
यसै सन्दर्भमा सेयर बजार विश्लेषक नयन बास्तोलाले आर्थिक भ्वाइससँग कुरा गर्दै भने, “पछिल्लो समय सेयर बजार हाउगुजी भएको छ। निकट भविष्यमै चुनाव आउँदैछ तर केही तत्वहरूले प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्ने हल्ला फैलाएका कारण आज अलिकति बजारमा असर परेको हो। तर यो असर क्षणिक मात्रै हो जस्तो लाग्छ मलाई।”
विश्लेषक बास्तोलाले आफ्नो प्रभुत्व जमाउनका लागि बजारमा केही तत्वहरूले फेरी पुरानो सरकारले कब्जा गर्ने भन्ने हल्ला फैलाएका कारण क्षणिक रुपमा मात्रै मार्केट डाउन भएकाले लगानीकर्ताहरुलाई नडराउन आग्रह गरे ।
उनले थपे, “लगानीकर्ताले डराउनुपर्ने अवस्था छैन। बैंकमा तरलता प्रशस्त छ, ब्याजदर न्यून छ, चुनाव नजिकिँदैछ र देशमा स्थिरताको वातावरण बन्दैछ। त्यसैले अहिलेको उतारचढाव क्षणिक हो। सेयर बजार फेरि बढ्ने सम्भावना उच्च छ।”
बास्तोलाका अनुसार, लगानीकर्ताले बजारमा अलिकति धैर्यता राख्दै लामो समयको दृष्टिकोण अपनाउनु उपयुक्त हुने देखिएको छ।








