काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ले सम्बोधन गर्दै लक्ष्य, प्राथमिकता र कार्यदिशासहितका प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली ‘राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारालाई पुनः दोहोर्याउँदै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न स्थिर बहुमतसहितको सरकार आवश्यक पर्ने उल्लेख गरेको छ। घोषणापत्रमा विगतमा एमाले नेतृत्वको सरकारले अघि बढाएका तर पूरा हुन नसकेका योजनालाई निरन्तरता दिने, सुशासन सुदृढ गर्ने, विकासलाई तीव्रता दिने, रोजगारी सिर्जना गर्ने तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।
तत्काल गर्ने ११ काम
घोषणापत्रमा सरकार गठन भएको प्रारम्भिक अवधिमै कार्यान्वयनमा लैजाने ११ प्राथमिक काम समावेश गरिएको छ। तीमध्ये आर्थिक पुनरुत्थान कार्यक्रम लागू गर्ने, उद्योग–व्यवसायलाई कर तथा प्रशासनिक सहजीकरण प्रदान गर्ने, युवालाई लक्षित रोजगारी तथा उद्यमशीलता कार्यक्रम विस्तार गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी र संरचनागत सुधार गर्ने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने जस्ता योजना समेटिएका छन्। साथै, मूल्यवृद्धि नियन्त्रण, कृषि उत्पादन वृद्धि, ऊर्जा तथा पूर्वाधारका रोकिएका आयोजना तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पाँच आधारभूत काम
एमालेले दीर्घकालीन रूपान्तरणका लागि पाँच आधारभूत कामलाई प्राथमिकतामा राखेको छ। यसमा उत्पादनमुखी अर्थतन्त्र निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार, कृषि आधुनिकीकरण, पूर्वाधार विकासको द्रुत विस्तार र सामाजिक सुरक्षा सुदृढीकरण रहेका छन्। पार्टीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
२५ संकल्प
घोषणापत्रमा समेटिएका २५ संकल्पमार्फत राष्ट्रियता, स्वाधीनता र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्दै स्थायित्व र सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। अध्यक्ष ओलीले सम्बोधनका क्रममा “भत्काउने र जलाउने होइन, बनाउने संकल्पका साथ अघि बढ्ने” उल्लेख गर्दै विगतका अनुभव र अभ्यासका आधारमा मुलुकको मुहार फेर्ने नेतृत्व एमालेले मात्र दिन सक्ने दाबी गरे।
उनले एमाले कुनै लोकप्रितावादी नाराबाजी वा अल्पकालीन स्टन्टमा केन्द्रित नहुने स्पष्ट पार्दै नीतिगत स्पष्टता, संस्थागत सुदृढीकरण र परिणाममुखी कार्यशैलीमार्फत जनविश्वास जित्ने धारणा राखे। साथै, राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा एमाले सधैँ दृढ रहने उनको भनाइ थियो।






