काठमाडौँ। सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन्। प्रहरीका अनुसार, सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित उक्त उद्योगमा मजदुरबीच आपसी विवादले हिंसात्मक झडपको रूप लिएको थियो। घाइतेमध्ये २ जना नेपाली र ५ जना चिनियाँ नागरिक छन्।
झडपको सुरुवात मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयमा मतभेद भएपछि भएको हो। प्रहरीका अनुसार बम्जन र अर्का नेपाली कामदार गोकर्ण कटुवाल घाइते भएका छन्। बम्जनको दाहिने आँखामा र खुट्टामा चोट लागेको छ र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको छ। कटुवालको टाउकोमा चोट लागेको छ।
चिनियाँमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ। ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा, ४० वर्षीय छ्याङ छोङको छातीमा, ४६ वर्षीय चुजेनको टाउको र मुखमा र ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागेको छ।
घटनापछि कम्पनी परिसरमा केही समय तनाव रह्यो, तर अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।







