काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारीलाई थप सहज र पारदर्शी बनाउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकका अनुसार बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो।
नयाँ प्रणालीमार्फत ग्राहकले लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका विवरण सजिलै हेर्न सक्नेछन्। यसका लागि बैंकले प्रकाशित गर्ने लिलाम सूचनामा समावेश क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।
यसका साथै, इच्छुक खरिदकर्ताले आफूलाई रुचि लागेको सम्पत्तिबारे थप जानकारी लिन पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकले सो पोर्टलमा नियमित रूपमा लिलाममा राखिएका सम्पत्तिहरू तथा सम्बन्धित सूचनाहरू अद्यावधिक गर्ने जनाएको छ। यसले सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकलाई एकै ठाउँबाट विस्तृत जानकारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।







