काठमाडौं। अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले ब्रह्माण्डसँग सम्बन्धित एक जटिल क्वान्टम सिद्धान्तलाई प्रत्यक्ष रूपमा अवलोकन गर्दै नयाँ उपलब्धि हासिल गरेका छन्। अनुसन्धान टोलीले पहिलो पटक ‘हिलियम’ परमाणुहरू एकै समयमा दुई फरक स्थानमा रहेको अवस्थालाई देख्न सफल भएको जनाएको छ, जसलाई ‘इनट्याङ्गल्ड इन मोसन’ भनिन्छ।
नेचर कम्युनिकेसन मा प्रकाशित अध्ययनअनुसार, प्रमुख अनुसन्धानकर्ता योगेश श्रीधर र डा. सिन हजम्यानले यो उपलब्धिले झन्डै सय वर्षअघिको क्वान्टम भविष्यवाणीलाई पुष्टि गरेको बताएका छन्।
यसअघि यस्तै प्रयोगहरू प्रकाशका कण ‘फोटोन’ मा मात्र सफल भएका थिए। तर हिलियम परमाणुहरूमा द्रव्यमान हुने र तिनमा गुरुत्वाकर्षणको प्रभाव पर्ने भएकाले यो नतिजा अझै महत्वपूर्ण मानिएको छ।
डा. हजम्यानका अनुसार, एउटा कण एकैसाथ दुई स्थानमा रहन सक्ने र आफैंसँग हस्तक्षेप गर्न सक्ने कुरा सैद्धान्तिक रूपमा बुझिँदै आए पनि प्रत्यक्ष रूपमा देखिनु अत्यन्तै उल्लेखनीय उपलब्धि हो।
यो अनुसन्धानले सानो स्तरमा काम गर्ने क्वान्टम मेकानिक्स र ठूलो स्तरको गुरुत्वाकर्षण बीचको सम्बन्ध बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ। साथै, बहुप्रतीक्षित ‘थ्योरी अफ एभ्रिथिङ’ तर्फको खोजमा पनि यसले महत्वपूर्ण आधार प्रदान गर्ने वैज्ञानिकहरूको अपेक्षा छ।






