काठमाडौं । उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने प्रहरीको माग जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ । अदालतको यस निर्णयसँगै अब उनीमाथि अनुसन्धान थुनाबाहिरैबाट अगाडि बढाइने भएको छ ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने निर्णय गरेको हो । अदालतले हालको अवस्थामा गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गर्दै म्याद थप अस्वीकार गरेको जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले पनि धरौटी वा जमानतमार्फत अनुसन्धान सम्भव हुँदाहुँदै थुनामै राखिएको विषयमा प्रश्न उठाएको थियो । त्यसपछि अनुसन्धानको स्वरूप परिवर्तन गर्दै सीआईबीले बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
तर सोही मुद्दामा म्याद थपका लागि पुनः अदालत पुग्दा जिल्ला अदालतले हिरासतमा राख्ने आधार नदेखिएको भन्दै अस्वीकार गरेपछि अब गोल्छामाथिको अनुसन्धान बाहिरैबाट अघि बढ्नेछ ।







