रूपन्देही। विकल्प नदिई बस्ती हटाउन खोजिएको भन्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन्।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको अगुवाइमा आयोजित उक्त प्रदर्शनमा जिल्लाका विभिन्न सुकुम्वासी बस्तीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले सरकारसँग वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी अघिल्लो व्यवस्था अनुसार भूमि आयोगमार्फत् लालपुर्जा उपलब्ध गराउन माग गरेका हुन्।

उचित विकल्प र व्यवस्थापन नगरी बस्ती खाली गराउने कार्य तत्काल रोक्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामाको माग गर्दै विभिन्न नारा लगाएका थिए।

उनीहरूले “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन, स्थापित गर”, “हाम्रो कर र मत वैध, हामी बसेको जमिन किन अवैध ?”, “मानव अधिकारको सम्मान गर” जस्ता सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।