काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको आत्मविश्वास पुनर्जीवित गर्ने महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् ।

महासंघको ६० औँ वार्षिक साधारणसभाबाट २१ औँ अध्यक्षमा निर्वाचित श्रेष्ठले पदबहालीसँगै “छ स्तम्भ, साठी पहल” नामक दीर्घकालीन रणनीतिक कार्यक्रम कार्यान्वयनमा लैजाने घोषणा गरेका हुन्।

नयाँ नेतृत्वले सार्वजनिक गरेको योजनामा निजी क्षेत्रको सुरक्षा, लगानीमैत्री वातावरण निर्माण, आर्थिक सुधार, उद्योग–व्यवसाय प्रवर्द्धन, डिजिटल रूपान्तरण, श्रम तथा सीप विकास, अन्तर्राष्ट्रिय व्यापार विस्तार र व्यवसायिक न्याय प्रणाली सुधारलाई प्राथमिकतामा राखिएको छ।

महासंघका अनुसार यो कार्यक्रम केवल घोषणापत्र नभई समयसीमा, जिम्मेवारी र अपेक्षित उपलब्धिसहित तयार गरिएको कार्यान्वयनयोग्य रोडम्याप हो, जसलाई चरणबद्ध रूपमा लागू गरिनेछ।

निजी क्षेत्रको ‘मूड’ फर्काउने प्रयास

अध्यक्ष श्रेष्ठको नेतृत्वमा महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको मनोबल बढाउने, व्यवसायीमाथिको प्रशासनिक तथा कानुनी दबाब कम गर्ने र लगानीको सुरक्षा सुनिश्चित गर्ने रणनीतिलाई विशेष प्राथमिकता दिएको छ ।

महासंघले ‘व्यवसायिक उत्पीडन निगरानी संयन्त्र’, ‘गोप्य गुनासो प्रणाली’, ‘व्यावसायिक विवादको गैर-अपराधीकरण’ र ‘अग्रिम धरौटी (Anticipatory Bail)’ जस्ता एजेन्डा अघि सारेको छ ।

यसलाई निजी क्षेत्रले पछिल्लो समय उठाउँदै आएको “व्यवसाय गर्न डर लाग्ने वातावरण” अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ।

एसएमईदेखि स्टार्टअपसम्म विशेष फोकस

नयाँ कार्ययोजनामा लघु, साना तथा मझौला उद्योग (SME), स्टार्टअप र युवा उद्यमशीलतालाई केन्द्रमा राखिएको छ ।

महासंघले प्रदेश कार्यालयमार्फत व्यवसाय विकास सेवा विस्तार, स्टार्टअप प्रोत्साहन कार्यक्रम, डिजिटल सदस्यता प्रणाली, मोबाइल एप, सीप विकास कार्यक्रम र स्किल एकेडेमी स्थापना गर्ने योजना अघि सारेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग, उद्यमशीलता विकास तथा प्रवासी नेपालीको लगानी सहजीकरणसमेत प्राथमिकतामा परेको छ ।

‘मेड इन नेपाल’ अभियानदेखि SEZ सुधारसम्म

महासंघले ‘Made in Nepal’ अभियान सञ्चालन गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।

यससँगै विशेष आर्थिक क्षेत्र (SEZ) प्रभावकारी बनाउने, आयात प्रतिस्थापन नीति, निर्यात प्रवर्द्धन, लजिस्टिक्स सुधार, करार उत्पादन (Contract Manufacturing) तथा क्षेत्रीय मूल्य शृङ्खलामा नेपाललाई जोड्ने रणनीति अघि सारिएको छ ।

बजेट र आर्थिक नीतिमा थप आक्रामक भूमिका

महासंघले अबदेखि बजेट, मौद्रिक नीति तथा आर्थिक सुधारका विषयमा थप प्रभावकारी नीतिगत पैरवी गर्ने जनाएको छ ।

यसका लागि महासंघभित्रै सार्वजनिक नीति, अर्थतन्त्र, व्यापार तथा कानुन अनुसन्धान शाखा स्थापना गर्ने, मासिक आर्थिक बुलेटिन तथा त्रैमासिक अर्थतन्त्र प्रतिवेदन सार्वजनिक गर्ने योजना बनाइएको छ ।

महासंघले निजी क्षेत्रको मनोबल मापन गर्न ‘Business Confidence Index’ समेत सुरु गर्ने तयारी गरेको छ ।

‘छ स्तम्भ, साठी पहल’ : महासंघको नयाँ नारासहित अभियान

महासंघले आफ्नो नयाँ अभियानलाई “छ स्तम्भ: ‘साठी पहलहरू, एक महासंघ’ भन्ने नारासहित अघि बढाउने जनाएको छ ।

नयाँ नेतृत्वको यो रोडम्यापले आर्थिक सुस्तता, लगानीकर्ताको घट्दो आत्मविश्वास र उद्योग/व्यवसाय क्षेत्रमा देखिएको निराशाबीच निजी क्षेत्रलाई पुनः संगठित र सक्रिय बनाउने संकेत दिएको विश्लेषण गरिएको छ।