काठमाडौं । सरकारले क्यासिनोमा नेपाली नागरिकको प्रवेश रोकथाम र कडाइ गर्न १२ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। पर्यटन विभागले बुधबार परिपत्र जारी गर्दै क्यासिनोहरूको नियमित अनुगमन र कडाइका साथ निगरानी गर्न आग्रह गरेको हो।
विभागका अनुसार पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको तथा अनुमति नभएका अन्य गतिविधि सञ्चालन गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यस विषयमा संघीय संसद्मा समेत प्रश्न उठेको उल्लेख गरिएको छ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित पत्र झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको छ।
विभागले सम्बन्धित निकायलाई क्यासिनोमा हुने गतिविधिको सूक्ष्म अनुगमन गर्न र कानुनविपरीतका कार्य रोक्न निर्देशन दिएको छ। अनुगमनका क्रममा नियम उल्लंघन भेटिएमा तत्काल कारबाही गरी विभागलाई जानकारी गराउन पनि भनिएको छ।
नेपालको पर्यटन ऐन, क्यासिनो नियमावली तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र खेलमा संलग्न हुन पूर्ण रूपमा निषेध गरिएको छ। त्यसैले कानुनको पूर्ण पालना सुनिश्चित गर्न कडाइ गर्न निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ।






