काठमाडौं । काठमाडौं मेरियट होटलले साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई आर्थिक तथा मानवीय सहयोग प्रदान गरेको छ। एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडअन्तर्गत सञ्चालित होटलले संस्थालाई नगद रकमसँगै बालबालिकाका लागि भोजन पनि उपलब्ध गराएको हो।

कार्यक्रम संस्थाको परिसरमै सम्पन्न भएको थियो, जहाँ होटलका प्रतिनिधिहरूले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुका साथै करिब २०० बालबालिकाका लागि खाना व्यवस्था गरेका थिए।

‘प्रिजनर्स असिस्टेन्स नेपाल’ कारागारमा रहेका अभिभावकका बालबालिकाको हेरचाह, शिक्षा र संरक्षणमा काम गर्दै आएको संस्था हो। संस्थाले ती बालबालिकालाई सुरक्षित वातावरण र आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले बालबालिकाले परिस्थितिका कारण दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताए। उनले समाजप्रतिको जिम्मेवारीलाई होटलको सेवाभावको महत्वपूर्ण हिस्सा मानिएको उल्लेख गरे।

होटलका अनुसार यो सहयोग कार्यक्रम केवल आर्थिक सहायता मात्र नभई सामाजिक उत्तरदायित्व र समुदायप्रतिको संवेदनशीलताको अभिव्यक्ति पनि हो।