काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीचको सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय सहकार्यका विषयमा छलफल गरिएको सभामुख सचिवालयले जनाएको छ।

सभामुख अर्यालले कोरियाले नेपालका विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य विस्तार गर्न आग्रह गरे। उनले नयाँ राजनीतिक परिवेशपछि नेपालमा लगानीका लागि वातावरण झन् अनुकूल बन्दै गएको उल्लेख गरे।

नेपाल प्रविधि उपयोगतर्फ अघि बढिरहेको बताउँदै उनले सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा कोरियाली लगानी बढाउन आह्वान गरे। साथै, नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै सांसदबीच अनुभव आदानप्रदानलाई मजबुत बनाउनुपर्ने धारणा राखे।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न र नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि आग्रह गरे। उनले दुई देशबीचको सम्बन्ध सरकारस्तरमा मात्र नभई जनस्तरसम्म विस्तार भएको उल्लेख गरे।

राजदूत पार्कले नेपाललाई कोरियाको प्राथमिक विकास साझेदारमध्ये एकका रूपमा राखिएको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको जानकारी दिए। रोजगार अनुमति प्रणालीमार्फत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा काम गर्ने अवसर पाएको र करिब ५० हजार अझै कार्यरत रहेको उनले बताए।

उनले नेपाली श्रमिकले कोरियाको उद्योग र कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको सुरक्षा र अधिकारप्रति कोरिया सरकार सचेत रहेको बताए। विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना र उद्यमशीलतामा सहयोग गर्ने पहल भइरहेको पनि उनले जानकारी दिए।

राजदूत पार्कका अनुसार नेपालमा कोरियाली लगानी विस्तार हुँदै गएको छ, विशेषगरी ऊर्जा क्षेत्रमा। रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजना करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए। साथै हरित ऊर्जा र कार्बन व्यापार क्षेत्रमा पनि लगानीको सम्भावना रहेको उल्लेख गरे।