सिरहा । बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गरिएको निर्णयको विरोधमा स्थानीयवासीहरू आन्दोलनमा उत्रिएका छन्। सीमावर्ती क्षेत्रमा निर्भर साना व्यापारी, मजदुर तथा दैनिक किनमेलबाट जीविकोपार्जन गर्नेहरू यस निर्णयबाट प्रत्यक्ष प्रभावित भएको बताउँदै सडकमा उत्रिएका हुन्।
स्थानीयका अनुसार पटक–पटक धर्ना, ज्ञापनपत्र, चक्काजाम लगायतका शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारबाट कुनै प्रतिक्रिया नआएपछि आन्दोलनलाई थप सशक्त बनाइएको हो।
आन्दोलनका संयोजक तथा बरियारपट्टी गाउँपालिका–३ का अध्यक्ष विनोद यादवले यो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई आम जनताको जीवनयापन र स्थानीय अर्थतन्त्र जोगाउने उद्देश्यले भएको स्पष्ट पारे। उनले तत्काल भन्सार पुनः सञ्चालन नगरे आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन्।
स्थानीय निर्मला देवी यादवले भन्सार बन्द भएपछि दैनिक जीवन नै कठिन बनेको गुनासो गरिन्। सानो व्यापारबाट परिवार चलाउँदै आएको उल्लेख गर्दै उनले व्यवस्थित रूपमा भन्सार सञ्चालन गर्न माग गरिन्।
भन्सार बन्द भएपछि सीमावर्ती क्षेत्रमा व्यापारिक गतिविधि घटेको मात्र होइन, स्थानीय बजारसमेत सुनसान बन्दै गएको स्थानीयको भनाइ छ। रामेश्वर यादवका अनुसार नेपाल–भारतबीचको परम्परागत आवतजावत र सानो किनमेलमा आधारित सम्बन्धमा समेत असर परेको छ।
सरकारले २०८३ वैशाख २१ गते राजपत्रमार्फत बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको हो।
यस क्रममा वैशाख २५ गते हुलाकी राजमार्गमा चक्काजाम, २६ गते र्याली तथा कोणसभा, २७ गते बजार बन्द र मसाल जुलुस आयोजना गरिएको थियो। माग सम्बोधन नभएपछि जेठ ११ गते पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनलाई थप तीव्र बनाइएको छ।






