संखुवासभा – संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले २५ जेठदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने भएकाे छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले २५ जेठदेखि एक महिनासम्म यार्सागुम्बा संकलन गर्न अनुमति दिएको बताए ।
उनका अनुसार निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छ । यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोष्ट भोटखोला–४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ–३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
अनुमति लिएका व्यक्ति वा समूहले २५ जेठदेखि २५ असारसम्म यार्सा संकलन गर्न पाउने छन् । यार्सागुम्बा संकलन गर्न जाँदा संकलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताए ।
यसैगरी, यार्सागुम्बा संकलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।
मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ । यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ ।
संकलित यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक घरखर्च, बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन् । यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका संखुवासभा र सोलुखुम्बुका लागि दुई हजार तथा जिल्ला बाहिरका लागि तीन हजार प्रवेश शुल्क तोकिएको छ ।
निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक ५० लाखभन्दा बढी राजस्व संकलन गरिरहेको थियो । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई प्रतिकेजी ४० लाखसम्म बिक्री हुने गरे पनि यहाँको यार्सागुम्बा प्रतिकेजी पाँच लाख पचास हजारदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी संकलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौंतर्फ बढी निकासी हुने गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।






