काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुरारिप्रसाद खरेललाई सचिवका लागि पुनः सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रिया नमिलेको भन्दै आयोगलाई पुनः सिफारिस गर्न भनेको थियो।

हाल आयोगको कायममुकायम सचिव रहेका खरेललाई १३ कात्तिकमा आयोगले मानवअधिकार सेवातर्फको विशिष्ट श्रेणीको सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

फेरि आयोगले पुरानै प्रक्रियालाई नै पछ्याएर खरेलको मात्रै नमा सचिव बढुवाका लागि सिफरिस गरेको छ।आयोगका सदस्य प्रा।सूर्यप्रसाद ढुंगेलको संयोजकत्वमा बनेको समितिले गरेको मूल्याङ्कन प्रतिवेदनमा खरेल र यज्ञप्रसाद अधिकारीले समान अंक पाएका थिए भने अर्का प्रतिस्पर्धी टीकाराम पोखरेलले केही कम अंक पाएका थिए ।

प्रतिस्पर्धी रहेका अधिकारीले प्राप्ताङ्कप्रति असन्तुष्टि पनि जनाएका थिए । तर, २१ माघमा सो सिफारिसलाई प्रधानमन्त्री कार्यालयले विभिन्न कारण देखाएर फिर्ता गरेको थियो। प्रक्रिया पूरा गरेर फेरि सिफारिस पठाउन भन्दै प्रधानमन्त्री कार्यालयले आयोगमा पत्र पठाएको थियो ।

आइतबार आयोगका अध्यक्ष तपबहादुर थापामगरको अध्यक्षतामा बसेको बैठकले फेरि खरेललाई नै सचिवका लागि सिफारिस गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

‘प्रधानमन्त्री कार्यालयबाट आएको पत्रको ब्यहोराअनुसार पुनः मुरारीप्रसाद खरेललाई नै नियुक्ति गर्नुपर्ने देखिएपछि त्यसैअनुसार निर्णय भएको छ,’ उनले भनिन्,‘दुई जनाको नाम पठाउन कार्यविधि नै परिवर्तन गर्नुपर्ने रहेछ, त्यसैले मिलेन ।’

आयोग ३४ महिनादेखि सचिवविहीन छ । कायममुकायम सचिवले लामो समय चलाइसकेको आयोगमा सचिव नियुक्तिका लागि अघि बढेको प्रक्रिया समेत अलमलमा परेको ५ महिना बितिसकेको छ ।