काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले तयारी अगाडि बढाएको छ। उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक पूर्वतयारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गरेकी छन्।

मन्त्री यादवले निरीक्षणका क्रममा उद्योगको वर्तमान अवस्था, प्रयोगमा रहेका तथा बिग्रिएका मेसिनरीको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे जानकारी लिएकी थिइन्।

उनको सचिवालयका अनुसार उद्योगलाई कसरी प्रभावकारी रूपमा पुनः सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल समेत गरिएको छ। उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउने उपायबारे पनि त्यहाँ कुराकानी भएको बताइएको छ।