काठमाडौं । ताप्लेजुङको उत्तरी क्षेत्रस्थित टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः नियमित सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार यसअघि ओलाङचुङ्गोलास्थित भन्सार कार्यालय स्थानीय कार्यालय सहयोगीकै भरमा सञ्चालन हुँदै आएको थियो।

कोभिड–१९ महामारीपछि बन्द रहेको भन्सार कार्यालयमा अहिले कर्मचारी खटाइएपछि सेवा पुनः सुरु भएको हो। बिहीबार नायब सुब्बा प्रदीप धिताललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि नाका नियमित सञ्चालनमा आएको वडाध्यक्ष लामाले बताए।

नेपालको पूर्वी हिमाली क्षेत्रमा चीनको तिब्बतसँग जोडिएको ओलाङचुङ्गोला छोटो व्यापारिक मार्गका रूपमा परिचित छ। त्यहाँबाट करिब २४ किलोमिटर दूरीमा रहेको टिप्ताला नाकासम्म पुग्न सकिन्छ।

स्थानीय जनप्रतिनिधिका अनुसार करिब चार दशकअघि निर्माण गरिएको भन्सार कार्यालय भवन अहिले जीर्ण बनेको छ। नयाँ भवन निर्माण तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थ मन्त्रालय र भन्सार विभागसँग माग गरिएको वडाध्यक्ष लामाले जानकारी दिए।

भन्सार कार्यालयमा कर्मचारी पठाउन स्थानीय जेनजी अभियन्ताले लामो समयदेखि भन्सार विभागमा दबाब दिँदै आएका थिए। ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित राजस्व सङ्कलन र व्यापारिक गतिविधि बढ्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।