काठमाडौँ। वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ।

महानगरले दिएको जानकारी अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घर बहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ।

महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए। गत नौ महिनाको तुलानामा राजस्व सङ्कलनमा सुधार देखिएको छ।

वीरगन्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन गरेको थियो । त्यसै गरी महानगरले आव २०७८-७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गरेको थियो।

महानगरले चालु आव २०८०-८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्टाइएको थियो ।