काठमाडौँ । सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीवी राईलाई नेपाल झिकाउन प्रक्रिया अगाडी बढाइएको गृहमन्त्री रवि लामिछानेले बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीवी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको र हाल उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी भइसकेको बताएका छन् ।
उनले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताएका छन् । उनले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरूपको कागजात नेपालबाट पठाइएको समेत जानकारी दिएका छन् ।
उनले जीवी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतीक्षाको विषय बनेको बताए । उनले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए ।
‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी९जीवी राई० मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्यूसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरिय संयन्त्रहरू संवादमा छन् र यी दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहन्छु’। लामिछानेले भने
मलेसियाका गृहमन्त्रीसँगको दुई पटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरू पठाउने क्रमको निरन्तरता, जीवी राईको राहदानी खारेजी प्रक्रियाहरू अगाडी बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानुनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरू हुन्। तर अनेकौँ प्रयासहरू निरन्तर जारी रहेका छन् । जीवी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिबद्ध छ । निरन्तर रूपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्य तथ्य उद्घाटित हुन व्यक्तिगत रूपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतीक्षाको विषय हो । केही कानुनी जटिलता पार गर्दै राजनीतिक र कूटनीतिक सम्बन्धमार्फत जीवी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’गृहमन्त्री पुनले थपे’







