काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा बिजुली जोड्न निर्देशन दिएका छन्।

शुक्रवार दिउँसो सबै पक्षसँग छलफल गरेका प्रधानमन्त्री ओलीले सबैको ब्रिफिङ लिएपछि यस विषयमा सरकारले आगामी दिनमा ठोस निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै लाइन काटिएका उद्योगमा शुक्रवार नै बिजुली जोड्न घिसिङलाई निर्देशन दिएका थिए।

‘एकातिर बिजुली बढी भएको छ, अर्कातिर लाइन काटेका कारण उद्योगहरू बन्द छन्, यस्तो गर्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले बैठक कक्षमा भनेका थिए । तर यता प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने बिजुली जोड्नका लागि सञ्चालक समितिको निर्णय आवश्यक रहेको भन्दै आइतबार मात्रै सञ्चालक समितिको बैठक गरेर निर्णय गरेपछि बिजुली जोडिने जवाफ दिएका थिए।

कुलमानको जवाफमा प्रधानमन्त्रीले भने– ‘प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री जी यहीँ हुनुहुन्छ, बोर्ड सदस्य सचिवजी यहीँ हुनुहुन्छ, प्रबन्ध निर्देशक यहीँ हुनुहुन्छ । बाँकी सञ्चालकलाई आफैँ बोलाउनुहोस् र आजै निर्णय गरेर बिजुली जोड्नुहोस् । सञ्चालक समितिको बैठक हुन सकेन भने पनि बिजुली आजै जोड्नुहोस् र पछि बैठक बसेर निर्णय गर्नुहोस् ।’

प्रधानमन्त्री केपी शर्माको जवाफले बिच्किएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेका छन् ।

बोर्ड बैठकमा केही घण्टाअगाडि नै प्रस्ताव जानुपर्ने व्यवस्था भएको र ऊर्जा मन्त्रालयबाट पनि केही कागजात चाहिने भएपछि लाइन जोडिदिने विषयमा केही निर्णय नभएको प्राधिकरणको जानकारी छ ।

प्रधानमन्त्रीको निर्देशन अनुरूप उद्योगीहरूसँग लिनुपर्ने रकम लिने पनि र लाइन पनि जोडिदिने प्रयास गरेको बुझिएको छ । प्रधानमन्त्रीसँगको छलफलमै कार्यकारी निर्देशक घिसिङले लाइन जोडिदिने विषयमा आफूले केही निर्णय गर्न नसक्ने बताएपछि प्रधानमन्त्रीले ‘तपाई निर्णय गर्नुहुन्न भने तपाईँका बारेमा हामी निर्णय गर्छौँ’ भनेका थिए।

करिब ३ घण्टा बसेको बोर्ड बैठकबाट घिसिङले कुनै निर्णय हुन दिएनन् । शनिवार पुनः बोर्ड बैठक बस्न सक्ने ऊर्जा मन्त्रालय स्रोतले भनाई छ डेडिकेडेट फिडर र ट्रंक लाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबिच विवाद जारी छ । यही विवादमा प्राधिकरणले २४ उद्योगको लाइन गत पुस पहिलो साता काटेको थियो ।