काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष सिलवालले नागरिकलाई सरल एवम् सहजरूपमा बीमा सेवा उपलब्ध हुने गरी कार्य गर्न र कुनै समस्या परेमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा जानकारी गराउन आग्रह गरेका छन् ।
उनले बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि दाबी भुक्तानी महत्वपूर्ण विषय भएकाले समयमैं दावी भुक्तानी गर्न बीमा कम्पनीहरूले सुझबुझका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा घातक रोग बीमा, एकल बीमाशुल्क, कर सुविधाको सीमा, बीमक तथा लघुबीमकबीच बीमादरमा देखिएको स्पष्टता, दाबी व्यवस्थापन, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन, बीमा अभिकर्ताको परीक्षा, बीमकका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था, बीमा क्षेत्रमा देखिएका समस्या लगायतका बीमा सम्बन्धी समग्र विषयमा छलफल भएको थियो ।







