काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् महसुलको बक्यौता जुनसुकै हालतमा उठाउने बताएका छन् ।
आज प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरूले उपभोग गरेको विद्युतको महसुल जसरी पनि तिर्नुपर्ने बताएका छन् । महसुल नतेरेकै कारण विद्युत् काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उनको भनाई छ ।
आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको उनको भनाइ छ । सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उद्योग सञ्चालन गर्दै बक्यौता उठाउने कुरामा सरकार स्पष्ट रहेको बताएका छन् ।
उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र मजदुरको रोजगारी गुम्ने हुनाले उद्योग चलाउने र बक्यौता पनि उठाउने बाटो लिएको प्रधानमन्त्रीको भनाइ छ । ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ’, उनले भने।
आठ दश वर्षदेखि थाती रहेको विषय भएकाले सरकारले काटिएको लाइन जोडेर बाँकी प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्नेमा ६ अर्बमा झारिएको भन्दै उनले यसको सोधिखोजी हुनुपर्ने बताए ।







