काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताएका छन् ।

सोमबार महासंघको सचिवालयमा अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) का दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उनले उक्त कुरा बताएका हुन् । सो अवसरमा अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई सरकारले ग्रहण गरेको र नयाँ पुस्ताका लागि पनि सुधारका प्रक्रियाहरु अघि बढाएको बताएका । उनले सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने पनि बताए ।

उनले दुई संस्थाहरूले स्थानीय र अन्तरराष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्नका लागि मिलेर काम गर्न सकिने पनि बताए। सो अवसरमा उनले महासंघ र आईएफसीले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्य बारे पनि स्मरण गराएका थिए । उनले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीति निर्माताहरूका लागि महत्वपूर्ण साबित भएको जानकारी गराए ।

उनले उद्योग वाणिज्य महासंघ र आईएफसी मिलेर मिलेर निजी क्षेत्रका लागि ईएसजी कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए । भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

साथै उनले नेपालले यो समयमा केहि आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू भने रहेको बताए ।