काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा पलाएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो। त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो। हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्‍यौँ कि अहिले भने आशा जागेको अवस्था छ।

महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुवात गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो।

उनले भने, ‘पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन। किन आएन भनेर यस पटक हामीले त्यसको कारण खोज्यौँ। कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्‍यौँ। सरकारलाई दबाब पनि दियौँ। हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन पनि भए। हामीलाई लाग्छ, अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ।’

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ वर्षमा धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह गरेका हुन् ।