काठमाडौँ। चालु आर्थिक वर्षको साउन भदौ र असोज महिनामा सेयर बजारबाट साढे ७ अर्ब बराबरको पुँजीगत लाभकर जम्मा भएको छ ।

सीडीएस एण्ड क्लियरिङले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त तीन महिनाको अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर जम्मा भएको हो । जस अनुसार साउन महिनामा सबैभन्दा धेरै अर्थात् ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ भने भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ तथा असोज महिनाका लागि ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।

भदौ महिनामा उठेको पुँजीगत लाभकरमध्ये २३ करोड ६५ लाख ६९ हजार रुपैयाँ व्यक्तिगत दीर्घकालीन कर हो । त्यस्तै व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर २८ करोड ८५ लाख ६३ हजार छ भने संस्थागत पुँजीगत लाभकर ६ करोड ९ लाख ७२ हजार र स्टक डिलरको पुँजीगत लाभकर ४३ हजार रुपैयाँ बराबर छ।

भदौको तुलनामा असोजमा ७७ प्रतिशतले लाभकर घटेको छ । व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।

साउनको अन्तिम कारोबार दिन बजार बढेर ३००० मा पुगेको थियो । त्यस्तै भदौको अन्तिम कारोबार दिन २५८० मा रहेको बजार असोजको अन्तिम दिन २७४२ अंकमा कायम भएको सीडीएस एण्ड क्लियरिङले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।