काठमाडौं । बैंकहरुबाट ऋण लिएर नियमित सावाँ र ब्याज नतिर्नेको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैकको निष्क्रिय कर्जा ४.२८ प्रतिशत पुगेको छ । जुन असार मसान्तमा ३.७६ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा निरन्तर बढ्दा बैंक तथा वित्तीय संस्थाको तथ्यांक सुधार हुने भन्दा पनि बिग्रदै गइरहेको नेपाल राष्ट्र बैंकको भनाई छ ।

मौद्रिक नीति तथा सेयर बजार र घरजग्गामा लगानी गर्न बैंकबाट सहजै ऋण लिन सक्ने बाटो बनाउँदा समेत ऋणीहरूले नियमित साँवा र ब्याज चुक्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको राष्ट्र बैंकको ठहर छ ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेसँग पछिल्लो समय लिलामीको सूचनाले पत्रिकाको व्यापार बढेको कतिपयको विश्लेषण छ ।

काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई असार मसान्तमा सरकारले भुक्तानी दिन नसकेको कारणले पनि बैंकहरुको साँवा व्याज नै उठ्न सकेको छैन ।

बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दा निक्षेपकर्ताले दुःख गरेर बैंकमा जम्मा गरेको बचत जोखिममा पुग्न थालेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।