काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयर धनीहरूलाई करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २८ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा बिहान १० बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
साथै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्ने र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयर धनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।







