काठमाडौं । सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ।

विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए। पछि प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको हो ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको छ। रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्न सम्भावनालाई ध्यानमा राखेर प्रहरीको उपस्थिति बढाइएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन्। सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ।

घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन्।