काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल रु.१ खर्ब ५६ अर्ब १७ करोड बराबरको बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूको व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०६ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमकहरूले रु.१ खर्ब ३९ अर्ब ३६ करोड प्रिमियम संकलन गरेका थिए। यस वर्ष भने सबै जीवन बीमा कम्पनीहरूको व्यवसायमा सकारात्मक वृद्धि देखिएको छ।
सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले रु.४१ अर्ब १६ करोड प्रिमियम संकलन गर्दै गत वर्षको तुलनामा १२.५१ प्रतिशत व्यवसाय वृद्धि हासिल गरेको छ।
त्यसैगरी, नेशनल लाइफ दोस्रो स्थानमा रहँदै रु.१९ अर्ब २ करोड प्रिमियम संकलन गरेको छ। कम्पनीको व्यवसाय १०.६१ प्रतिशतले बढेको छ।
अन्य कम्पनीहरूमध्ये एलआइसी नेपालले रु.१६ अर्ब ८४ करोड, हिमालयन लाइफले रु.१४ अर्ब ५५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले रु.१० अर्ब ९ करोड र सूर्यज्योति लाइफले रु.९ अर्ब ५० करोड प्रिमियम संकलन गरेका छन्।
यस्तै, एशियन लाइफले रु.८ अर्ब १ करोड, सिटिजन लाइफले रु.६ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले रु.५ अर्ब ९८ करोड, आइएमई लाइफले रु.५ अर्ब ५० करोड, मेट लाइफले रु.५ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफले रु.४ अर्ब ९४ करोड, प्रभु महालक्ष्मी लाइफले रु.४ अर्ब ७० करोड तथा सन नेपाल लाइफले रु.३ अर्ब ५५ करोड प्रिमियम संकलन गरेका छन्।
व्यवसाय वृद्धिदरका आधारमा भने आइएमई लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीले गत वर्षको तुलनामा ३१.३० प्रतिशतले व्यवसाय विस्तार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।






