काठमाडौँ। सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले थप सशक्त गर्ने भएको छ । महासंघले सोमबारदेखि अनिश्चित कालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तर पुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ ।
देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौँको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आग्रह गरेका हुन्। यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह गरेको छ।
‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौँ,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ।’
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।







