काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गईरहेको धारणा बताएका छन्। उनले भने,‘सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरु गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौं ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए । उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानूनहरूमा महत्वपूर्ण परिवर्तनहरू गरेको र यी कानूनी सुधारहरूको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झटहरू कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताए ।

यसैगरी प्रधानन्त्री ओलीले देश विकासको लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाहरुका लागी स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना राम्रो सराहनीय कुरा भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ, निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन र राष्टिय स्वाभिमान निमार्ण गर्ने बताए ।

उनले निजी क्षेत्रको छाता संगठनको रूपमा रहेको महासंघले औद्योगिक तथा व्यवसायिक समुदायको व्यवसाय प्रवद्र्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसँगै साथ अघि बढेको बताए।