अमेरिकास्थित इक्युफोरपीस वल्र्डवाइड संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलले भारतको आन्ध्र विश्वविद्यालयका उपकुलपति प्रा. जीपी राजशेखरसँग भेटवार्ता गरेका छन् । विद्यार्थी तथा युवालक्षित भावनात्मक बुद्धिमत्ता र शान्ति शिक्षाको प्रवर्द्धन गर्ने विषयमा सहकार्यबारे छलफल गरेको हो ।

प्रतिनिधिमण्डलमा नेभाडा, अमेरिका की प्रिभेन्सन स्पेसलिस्ट मिस डीआना क्रोसमुन, नेपालका वर्ल्ड विदआउट एङ्गर संस्थाका अध्यक्ष डा. देश मर्दन बस्न्यात, इक्युफोरपीस वल्र्डवाइडका बोर्ड सदस्य तथा डीन भ्यान लुएवन शान्ति अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. चल्ला कृष्णवीर अभिषेक सहभागी थिए।

भेटका क्रममा प्रतिनिधिमण्डलले उपकुलपतिलाई इक्युफोरपीस वल्र्डवाइड को विश्वव्यापी पहलबारे जानकारी दिँदै शिक्षण प्रणालीमा भावनात्मक शिक्षा समावेश गरी सहानुभूति, सचेतन र अहिंसात्मक सञ्चारको संस्कार युवापुस्तामा विकास गर्ने लक्ष्य राखिएको बताए।

प्रा. राजशेखरले शैक्षिक संस्थामा आन्तरिक शान्ति र सुखको विकास अत्यन्तै आवश्यक रहेकोमा जोड दिए। प्रतिनिधिमण्डलले विश्वविद्यालयमा शान्ति अध्ययन र भावनात्मक बुद्धिमत्ता सम्बन्धी पाठ्यक्रमहरू ल्याउन शैक्षिक सहकार्यका सम्भावनाहरू खोज्ने इच्छा व्यक्त गरे ।

केन्द्रका उपाध्यक्ष डा. देशमर्दन बस्न्यातले डा. डीन भ्यान ल्युवनसँग १२ वर्ष सहकार्य गर्दै १२,००० भन्दा बढी विद्यार्थीमा भावनात्मक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेका छन् । उनका अनुसार शान्ति र भावनात्मक बुद्धिमत्तामा योगदान पुर्याउनेलाई सन् २०१६ देखि “डीन अफ इन्टरनेशनल पिस प्राइज” दिइँदै आएको छ।