काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभा काठमाडौंको कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष नवीन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीका लागि कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ।
पारित लाभांशमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश छन्।
सभाले सञ्चालक समितिमा रेणुका पाण्डे र प्राप्ति अधिकारीलाई सदस्यका रूपमा चयन गरेको छ। साथै, अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन छलफलपछि अनुमोदन गरिएको छ।
आर्थिक प्रतिवेदनतर्फ, आव २०८१/८२ को वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरू पनि सभाले स्वीकृत गरेको छ। आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ।
लगानी विस्तारसँग सम्बन्धित प्रस्तावमा, कम्पनीले सम्भावित नयाँ क्षेत्रमा लगानी गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार दिने निर्णय गरिएको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई होल्डिङ कम्पनीको रूपमा विकास गर्ने, सोहीअनुसार नाम परिवर्तन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय सभाले पारित गरेको छ। साथै, जारी पुँजी वृद्धि, हकप्रद सेयर निष्काशन तथा सम्बन्धित नियामक निकायहरूमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिइएको छ।
त्यसैगरी, कम्पनी रजिष्ट्रार कार्यालय तथा अन्य नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।
सभामा सहभागी सेयरधनीहरूले लाभांश निर्णयको स्वागत गर्दै आगामी आर्थिक वर्षमा पनि निरन्तर प्रतिफल सुनिश्चित गर्न व्यवस्थापनलाई आग्रह गरेका थिए।
कम्पनीले पर्वतको कुश्मा नगरपालिका–८ मा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जुन २०६९ सालदेखि व्यावसायिक उत्पादनमा रहेको छ।







