२०५८ सालदेखि नेपाल लाइफ इन्सुरेन्समा अभिकर्ताका रूपमा जोडिएका ओम केसी पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव पनि हुन् । बीमाको अवधारणा, बीमा अभिकर्ता पेशा र पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्याका बारेमा रहेर आर्थिक भ्वाइसले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

बीमा भनेको के हो ? यो किन गरिन्छ ?

जिन्दगीमा भविष्यमा आउन सक्ने जोखिमबाट बच्न अपनाइने योजनालाई बीमा भनिन्छ । बीमा किन गर्ने भन्ने कुरालाई धेरै कोणबाट हेर्न सकिन्छ । पहिलो त यो बचतका लागि गरिन्छ । अर्काे भनेको जोखिम कम गर्न र तेस्रो चाहिँ छरिएर रहेको पैसालाई एकै ठाउँमा जम्मा गर्न गरिन्छ । बच्चाहरूलाई फजुल खर्च नगर्न पनि यसले सिकाउँछ ।

मान्छेको जीवन एकदमै अप्रत्याशित छ । कतिबेला के हुन्छ भन्न सकिँदैन । अहिले बीमाका रूपमा पैसा बचत गर्नुभयो भने त्यो पैसाले पछि तपाईं बिरामी हुँदाका बेला गर्जाे टार्न पनि मद्दत गर्छ । तपाईंको परिवारलाई पनि एक खालको भरोसा र आड प्रदान गर्छ ।

बैंकहरूमा जम्मा गरिएको पैसा बचत होइन । त्यो त जतिबेला पनि निकाल्न मिल्छ । मन परेको सामान देख्यो, किन्न मन लाग्छ । खल्तीमा पैसा छैन भने पनि क्युआर गरेर किन्नुहुन्छ । तर बीमामा राखिएको पैसा त्यसरी निकाल्न मिल्दैन । त्यो साँचो बचत हो ।

बीमाका थुप्रै पोलिसीका बारेमा सुन्नमा पाउँछौं । उमेर समूह अनुसार आफूलाई ठीक हुने योजना चाहिँ कसरी छनौट गर्ने ?

नेपालको केसमा पूर्वअध्ययन बिना नै बीमा गर्न जाने चलन छ । अध्ययन गरेर गएका खण्डमा मात्र बीमा फाइदाजनक साबित हुन्छ । सफल हुन्छ । बच्चाको बीमा केको लागि गरिन्छ भन्दा उसको शैक्षिक भविष्य र करियरको लागि गरिन्छ । पछि उच्च शिक्षामा पढाउँदा खर्च धान्न सजिलो होस् भनी हामी ऊ सानो छँदादेखि नै थोरै थोरै गरेर पैसा जम्मा गरिन्छ ।

अब अविवाहित युवाहरूलाई विवाहका लागि र त्यसपछि कसरी खर्च जुटाउने भन्ने चिन्ता हुन्छ । विवाह हुनुअघि नै पाँच/छ वर्षअघिदेखि नै थोरैथोरै बचत गर्दा त्यसले पछिलाई पनि सहयोग गर्छ । बिहेपछि थप जिम्मेवारी आउँछन् । त्यसका लागि तयार हुन पनि बीमाले सघाउँछ । विवाहअघि साथीहरूसँग फजुल गर्ने बानी हुन्छ । यसरी बीमाले फजुल खर्चमा पनि लगाम लगाउँछ । भोलि बच्चाबच्ची हुन्छन् । बच्चाबच्चीका लागि भनेर निश्चित समयका लागि पनि बीमा गर्न सकिन्छ । सस्तो खालका इन्नोभेटि र होल लाइफ बीमा गर्न सकिन्छ ।

यस्तै व्यापारीहरूले मनि ब्याक योजना पनि गर्न सक्छन् । आज एउटा सानो पसल सुरु गर्छु । पछि त्यसैलाई ठूलो बनाउँछु भन्ने अवधारणा बनाउन सक्छ । उसले दैनिक कति बचत गर्छ, त्यो हिसाबले बीमा अवधिको निश्चित समयपछि फिर्ता आएको रकमले नयाँ व्यापार गर्न सक्छ । नेपाल लाइफमा ३० प्रतिशत फिर्ता आउँछ । कतिपयले २५ प्रतिशत दिन्छन् ।
यस्तै रिटायरमेन्ट लाइफलाई हेरेर पनि गर्न सकिन्छ । सेवाबाट अवकाश पाउने बेला एकमुष्टमा चाहिन्छ भन्नेले बचत गरेर राख्ने अनि रिटायर भएपछि होल लाइफ इन्सुरेन्स गर्ने खालका पनि योजना छन् ।

मेरा एक जना क्लाइन्ट हुनुहुन्थ्यो । अपेक्षा नगरिएको ठाउँबाट आएको बोनस रकमलाई उहाँले बीमामा लगाउनुहुन्थ्यो । उहाँले आफ्ना दुवै सन्तानलाई उच्च शिक्षासम्म पढाउनुभयो । दुई सन्तानको विवाह गर्दासम्म धेरै पटक म्याचुर भइरहन्थे । मसँग मात्रै उहाँले सात वटा पोलिसी लिनुभएको थियो ।

भनेपछि जति जीवन बीमा पोलिसी जति वटा पनि लिँदा हुन्छ ?

निर्जीवन बीमामा बीमा गरिएको वस्तुको निश्चित मूल्य हुन्छ । घर वा गाडीको मूल्य तोकिएको हुन्छ । एकै ठाउँ मात्र बीमा गरिन्छ । तर हाम्रो जीवनको त्यस्तो निश्चित मूल्य हुँदैन । हाम्रो जीवनको मूल्य कति हो त्यो हामी आफैंले बनाउने हो । पैसा तिर्न सक्ने स्रोत चाहिँ मैले देखाउन सक्नुपर्छ । मेरो आयस्रोत यस्तो यस्तो छ र म प्रिमियम तिर्न सक्छु भनेर देखाउन सक्नुपर्छ ।

बीमाले केकस्ता जोखिमबाट सुरक्षा दिन्छ ?

जोखिमबाट हुने सुरक्षा हामीले लिने पोलिसी अनुसार फरक पर्दछ । दुर्घटनाको जोखिम हुन्छ । पूर्ण अशक्तताको जोखिम हुन्छ । प्रिमियम छुटको जोखिम पनि कभर गर्छ । नेपालमा अहिले नयाँ अभ्यास पनि हुँदैछ । जोखिम मात्र वहन गर्ने तर रिर्टनमा केही नदिने प्रकारका बीमा पनि हुन्छन् । जस्तो कि आँखाको बीमा ।

बीमा गर्नुपूर्व राम्रो जानकारी राख्न जरुरी छ । नेपालमा बीमा क्षेत्र बिस्तारै ठूलो हुँदैछ । अब यसका लागि सबै सरोकारवालाहरू मिलेर जानुपर्छ । बीमा कम्पनी, बीमा प्राधिकरण र हामी जस्ता अभिकर्ता सबैको यसमा भूमिका रहन्छ । वातावरणलाई सकारात्मक बनाउने भनेको हामीले नै हो । नयाँ मान्छेले पनि बीमाको बारेमा बुझ्न जरुरी छ । यसरी बीमा बजारको आकार पनि बढ्छ ।

आफ्नो बीमा गराउनुअघि बीमितहरूले केके कुरामा ध्यान दिन जरुरी छ ?

सबैभन्दा सुरुमा आफूले कुन पोलिसी लिन लागेको हो भन्नेमा बीमितहरू स्पष्ट हुन आवश्यक छ । बीमा अभिकर्ताले “लौ बीमा गर्नुस्” भनेर भनेको भरमा होइन, बरु आफूलाई ठीक हुने बीमा पोलिसी कुन हो, मैले कति प्रिमियम तिर्न सक्छु, भन्ने यावत् विषयमा अध्ययन गरेर मात्र निर्णय लिनुपर्छ । कम्पनीका वेभसाइटहरू हेर्ने वा अन्य माध्यमबाट जानकारी लिने पनि गर्न सकिन्छ । नेपालमा आफन्तले उक्साएको भरमा बीमा गर्न जाने चलन छ । यसरी बीमा गर्नु हुँदैन । सुरुमा आफन्तको माध्यमबाट बीमा गराउन जाने तर बीमा नबुझेका कारण पछि कुनै समस्या आयो भने बीमा क्षेत्रका बारेमा तथानाम भन्दै हिँडेको पनि प्रशस्त उदाहरण भेटिन्छन् । त्यसैले बीमित आफैं सचेत हुन जरुरी छ । सञ्चारमाध्यमहरूले पनि बीमितहरूलाई बीमाका बारेमा सचेतना छर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ ।

बीमामा मिस सेलिङ हुन्छ भन्ने पनि सुनिन्छ । के छ यसको पछिल्लो ट्रेन्ड ?

मिस सेलिङ सबै ठाउँमा हुन्छ । विकसित देशमा पनि चोर हुन्छन् । अपराध हुँदै हुँदैनन् भन्नु गलत हो । अपराध हुँदैनथे भने प्रहरी हुँदैनथे होला । सीसीटिभी हुँदा पनि चोरी हुन्छन् । चोरी हुँदै हुँदैनन्, सबै कुरा चोखो छ भन्नु गलत हुन्छ । मिस सेलिङ हुन्छन् । एक खालको मिस सेलिङ मैले अघि पनि सुनाएँ । आफन्तको माध्यमबाट बीमा गर्ने, बीमाका बारेमा राम्रोसँग नबुझाइ बीमा गराउने प्रवृत्ति पनि मिस सेलिङ हो । अर्काे भनेको बजारमा धेरै बीमा कम्पनी आइसकेका छन् । प्रतिस्पर्धा एकदमै अस्वस्थ भएर गएको छ । कम्पनी कसरी हुन्छ आफ्नो टार्गेट भेट्टाउन भनेर लागेका हुन्छन् । त्यो क्रममा पनि मिस सेलिङ हुन्छन् ।

अचेल नेपाली बजारमा केकस्ता बीमा पोलिसी छन् ?

प्रभावकारी पोलिसी आउनुपर्ने हो तर आउन सकेका छैनन् । अझै पनि पारम्परिक किसिमका पोलिसी छन् । इन्डोमेन्ट, होल लाइफ, मनिब्याक, रिस्क कभर नाम दिइएको हुन्छ । यी सबै उस्तै हुन् खास फरक छैनन् ।

अभिकर्ता बन्न आधारभुत योग्यता केके चाहिन्छ ?

पहिले एसईई सरहको परीक्षा उत्तीर्ण गरेको र नेपाली नागरिक भएको मान्छे अभिकर्ता बन्न सक्थ्यो । बीमा नियमावली, २०८१ ले शैक्षिक योग्यतालाई बढाएर कक्षा १२ उत्तीर्ण हुनुपर्ने भनेको छ । त्यस बाहेक कानून अनुसार आर्थिक रूपले भ्रष्ट नदेखिएको, चरित्रमा दाग नलागेको, आर्थिक मुद्दा नलागेको मान्छे अभिकर्ता बन्न सक्छ । तर कम्पनीहरूले ती कुरा हेर्ने गरेको पाइँदैन । उनीहरूलाई जसरी पनि काम गर्न मान्छे चाहिएको छ । स्वरोजगार सृजना गर्ने मान्छेको खाँचो उनीहरूलाई छ । रोजगारका लागि विदेश जानेको लर्काे लागिरहेको समयमा नेपालमै केही गरौं भन्ने सोच भएका युवा छैनन् । त्यसतिर कसरी प्रेरित गर्ने भन्ने चाहिँ सोच देखिँदैन ।

बीमा अभिकर्ता कस्तो पेशा हो ?

यो पेशालाई दुई तरिकाले हेर्न सकिन्छ । नियमित रूपमा यो पेशामा लाग्ने मान्छेलाई जीविकोपार्जन गर्न कुनै पनि अप्ठेरोको सामना गर्नुपर्दैन । तर यो पेशामा आकर्षण हुन गाह्रो छ । नेपालीले पेशालाई सम्मान गर्न जान्दैन । अपहेलना गरिरहेको हुन्छ । विदेशमा सबै पेशा गर्नेलाई सम्मान गरिन्छ । जुत्ता सिलाउने मान्छेलाई सम्मान गरिन्छ । ऊ नहुने हो भने मान्छे खाली खुट्टा हिँड्नुपर्ने हुन्छ । तर नेपालमा त्यस्तो छैन । फलानोको सन्तान त अभिकर्ता भएछ भनेर होच्याउने चलन छ । हेर्ने नजर नै गलत छ ।

पछिल्लो समय अभिकर्ताहरूले झेल्नुपरेको समस्या के छन् ?

बीमा अभिकर्ताको काम नै अपहेलित प्रकृतिको छ । गर्वका साथ म बीमा अभिकर्ता हुँ भनेर भन्न सक्ने अवस्था छैन । ससुराली या मामाघर पुगेर म अभिकर्ताको काम गर्छु भनेर परिचय दिन सकिँदैन । समाजमा यस पेशालाई लिएर नकरात्मता मात्र छ । यहाँसम्म कि सरकारले पनि बीमा अभिकर्ताका बारेमा नकरात्मक सोच राखेको छ । सरकारसम्म बीमा कम्पनी र बीमा प्राधिकरणमार्फत् पुगेका सूचना पनि अभिकर्तालाई लिएर पूर्वाग्रही किसिमका छन् । तथ्याङ्कलाई विश्लेषण गर्ने बानी छैन । विगतमा कुनै एउटा अभिकर्ताले मिस सेलिङ गर्‍यो, अनि पछि काममा टिक्न नसकेर विदेशतिर गयो । अनि पछि त्यही कुरालाई सामान्यीकरण गरिन्छ । यसले गर्दा समग्र पेशा नै खराब हो भनेर बुझ्ने गरिएको छ ।

बीमा नियमावली, २०८१ लाई लिएर तपाईंको असहमति के कुरामा हो ?

राजपत्रमा बीमा नियमावली प्रकाशन हुने बित्तिकै हामीले बीमा प्राधिकरणमा आपत्ति दर्ज गराएका थियौं । त्यसलाई अध्ययन गर्न एउटा कार्यदल पनि बनेको छ । कार्यदलमा बीमा प्राधिरणबाट ३ जना, अभिकर्ता संघबाट दुई जना र जीवन बीमक संघ, निर्जीवन बीमक संघ र माइक्रो बीमक संघका १–१ जना राखिएका छन् । नियमावलीमा अचम्म अचम्मका कुरा राखिएको छ । यस्ता कुरा संसारमा कतै पनि छैनन् । यसले पनि उच्च पदमा रहेका मान्छेले अभिकर्ताका बारेमा के सोच्दा रहेछन् भन्ने छर्लङ्ग देखाएको छ । अरू क्षेत्रमा काम गर्नेहरूलाई हेर्नुस्, सबैको सेवासुविधा बढिराखेकै छ । हाम्रो मात्र यस्तो क्षेत्र बनेको जहाँ भएको सेवासुविधा घटिरहेको छ ।

बुँदागत असहमति छन् । कतिपय कुरा त नियमावलीले समेटेको छ । तर तीन वटा कुरामा हाम्रो असहमति छन् । नियम ४३ मा बीमा प्राधिकरणले आफूलाई स्वामित्वमा राखेर उसले तोकेको बमोजिम अभिकर्तालाई लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । उसले आफूलाई सर्वशक्तिमान् बनाएर पेश गरेको । यो कुरा हामीलाई मान्य छैन ।
नियम ४४ मा राखिएका प्रावधानले अभिकर्ताको मानमर्दन हुने कुरा गरेको छ । सीधा बीमा कम्पनीमा गएर बीमाकर्ताले बीमा गर्दा अभिकर्ताले लिने कमिसनको ५० प्रतिशतको छुटको कुरा गरिएको छ । अन्त कतै पनि यस्तो नियम छैन । चाउचाउ उद्योगमा जानुभयो भने होलसेलरको रेटमा उत्पादन किन्न पाइँदैन । तर यहाँ किन यस्तो ? हामीले त सर्वसाधारणलाई बीमाका बारेमा सचेतना बाँड्ने काम गर्ने हो । सबैले बीमा बुझेका हुँदैनन् । साक्षर मात्र सीधा बीमा कम्पनीमा जान्छन् । जो बीमालाई असाक्षर छन् उनीहरूलाई बीमा सम्बन्धी साक्षरता हामीले दिने हो । प्राधिकरणले हाम्रो महत्त्व नबुझेको महसुस भएको छ । बीमितलाई अन्याय हुनुपर्छ भनेर मैले भन्न खोजेको होइन । त्यो रेट कायम हुनुपर्छ ।
अनि सबै अभीकर्ताको कमिसन दर एउटै छैन । त्यहाँ नेर ५० प्रतिशत छुट भनिरहँदा कति रकमको ५० प्रतिशत भन्ने अन्यौल निम्तिएको छ । नियमावलीमा यस्तो द्विविधा उत्पन्न गराउने कुरा राखिनु हुँदैन । हचुवाको भरमा नियमावली बनाउनुहुँदैन । यो खारेज गर्नुपर्छ ।

नियम ४४ कै उपनियम ४ को प्रावधानसँग पनि हाम्रो असहमति छ । मानौं कि मैले तपाईंको बीमा गराएँ । तर तपाईंले समयमा प्रिमियम तिर्न सक्नुभएन । यस्तो अवस्थामा नियमावलीले बीमा अभिकर्तालाई दण्डित गर्ने प्रावधान लागू गर्न खोजेको देखिएको छ । यो त मान्य कुरा भएन नि । बीमितले गर्ने गल्तीका लागि अभिकर्तालाई दण्ड दिन त भएन नि । यो कसरी जायज हुन्छ ? बीमितले प्रिमियम नतिर्दा अभिकर्तालाई दण्ड हुन्छ भने तिरेका बेला अभिकर्तालाई सम्मान पनि त गर्नुपर्छ होला नि । हैन ? यसले त हाम्रो मनमर्दन गर्ने काम गरेको छ । हामीलाई लिएर समाजमा घृणा फैलाउने काम गरेको छ । यसलाई संशोधन गर्नुपर्छ । यही हाम्रो माग हो ।

त्यसैका लागि कार्यदल पनि बनेको हो । कार्यदलले एक महिनामा सुझाव बुझाउँछ । त्यो सुझाव अनुसार प्राधिकरण र मन्त्रालयले नियमावलीमा संशोधन गरेछन् भने हामी काममा फर्किन्छौं । नत्र हामी अन्तिम लडाइँ लड्न बाध्य हुनेछौं ।
तपाईंले भन्नुभएको अन्तिम लडाइँ चाहिँ कस्तो लडाइँ हो ?

पेशागत बीमा अभिकर्ता महासंघकोतर्फबाट ध्यानाकर्षण गराइसकेका छौं । देशमा लगभग ३ लाख अभिकर्ता छन् । हामी सबैले लाइसेन्स फिर्ता गरिदिन्छौं । लाइसेन्स फिर्ता गरेर घरमा गएर बस्दैनौं । हामी बीमाकर्ताप्रति पनि जिम्मेवार पनि छौं । बीमा प्राधिकरण घेर्ने या अरू जेजे गर्न मिल्छ सबै गर्नेछौं । हामीले कि जित्छौं कि हार्छौं भनेरै लडाइँ थालेका छौं । हारेछौं भने पेशा छाड्ने छौं । चेतावनी भनेर बुझे हुन्छ । हामीले पेशा छाड्दै गर्दा बीमा बजारलाई पनि क्षति पुग्नेछ । यो कुरा सम्बन्धित निकायले पनि बुझ्न जरुरी छ ।

संसारभरि जुनसुकै देश हेर्नुस्, अभिकर्ताबिना बीमा क्षेत्र अपूरो छ । जापान, क्यानडा, अमेरिका सबैतिर बीमा फस्टाएको भनेकै अभिकर्ताले गर्दा हो । भारतमै पनि हेर्नुस् न, अभिकर्ताबिना कुनै पनि बीमा कम्पनी चलेकै छैनन् । अनि यहाँ हटाउन खोजेर हुन्छ ? त्यस्तो नसोचे हुन्छ । त्यो दिउँसै सपना देखेको जस्तो हुन्छ ।

बीमा प्राधिकरणबाट तपाईंहरू आशावादी हुनुहुन्छ । तर नियमावलीमा तपाईंहरूले चाहेको जस्तो संशोधन भएन र आन्दोलनमा होमिनुभयो भने त्यो कदम समग्र पेशाका लागि प्रत्युत्पादक बन्ने जोखिम त रहँदैन ?

अभिकर्ताको काम एकदमै संवेदनशील काम हो । बीमितको विश्वास जितेर उसलाई बीमा गर्न अग्रसर गराउनु भनेको चानचुने काम होइन । त्यसमा एकदमै ठूलो प्रयासको खाँचो पर्छ । बीमितलाई पटकपटक भेटेर मनाउने काम यसै पनि कठिन काम हो । यो पेशा जनसम्पर्क र मनोविज्ञानसँग सम्बन्धित पेशा हो । हाम्रो महत्त्व सरकार र प्राधिकरणले बुझिदेओस् भन्ने नै हाम्रो मुख्य माग हो । प्राधिकरणलाई लिएर हामी सकारात्मक छौं । हाम्रो समस्या बुझिदिन्छ भन्ने सोचेका छौं ।
यस्तो यस्तो रूपले आन्दोलनमा जान सकिन्छ मात्र भनेर भनेको हुँ । आन्दोलनमै जाने हाम्रो चाहना चाहिँ होइन । “मरता क्या नहीँ करता” भन्ने अवस्था आएको हकमा भनेको हुँ । अपमानित भएर बाँच्न त सकिँदैन नि सधैं । फट्याङ्ग्राले पनि मर्ने बेला लात्ता हान्छ । आन्दोलन गर्न नपरोस् भनेर कामना गर्छाैं ।

तपाईं नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ एजेन्सी म्यानेजर पनि हुनुहुन्छ । नेपाल लाइफका पोलिसी केकस्ता छन् ? बीमितहरूलाई के भन्न चाहनुहुन्छ ?

नेपाल लाइफका पनि १७/१८ वटा योजना ल्याएको छ । त्यूनतम १० हजार रुपैयाँका बीमा पोलिसी पनि छन् । सबै खाले नागरिकलाई लक्षित गरिएका पोलिसी छन् । सम्भावित र पुराना बीमित सबैमा म के भन्न चाहन्छु भने अभिकर्ताले मलाई यस्तो पोलिसी भिडाइदियो भनेर नभन्नुहोस् । पहिले नै सजग हुनुहोस् । प्रिमियमको हिसाब अभिकर्ताले राख्दैन । आफ्नो आर्थिक स्थतिलाई मध्यनजर गर्दै कुन बीमा कम्पनीको कुन पोलिसी लिने भन्ने जस्ता कुरा तपाईं आफैंले अध्ययन गर्नुपर्छ । अभिकर्ताले बीमा गर्नुस् भनेर भनेको भरमा पोलिसी खरिद गर्दा तपाईं आफैंले दुःख पाउनुहुन्छ ।

सबै कम्पनीका आआफ्ना प्रोडक्ट छन् । ती सबै प्रोडक्टका आआफ्नै विशेषता छन् । पेशागत अभिकर्ता संघको महासचिव भएका कारण फलानो इन्स्योरेन्सको मात्र पोलिसी राम्रो छ भनेर भन्न मिल्दैन । हामीले २०६१ सालतिर सर्वाेच्चमा पनि लडेका थियौं । बीमा कम्पनीहरूबाट पारिश्रमिक लिएर काम गर्ने कर्मचारी नभएपनि हामीले उनीहरूको राम्रो प्रोडक्ट बेचिदिने गरेका छौं । अदालतले पनि अभिकर्ताहरूले सबै कम्पनीको प्रोडक्ड बेच्न पाउनुपर्छ भनेर फैसला सुनाएको थियो ।
बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा एउटा अभिकर्ताले एकभन्दा बढी बीमा कम्पनीका प्रोडक्ट बेच्न नमिल्ने भन्ने प्रावधान राखेको छ । भारतमा यस्तो बन्देज छैन । अभिकर्ताले जति वटा कम्पनीको पनि प्रोडक्ट बेच्न पाउँछन् । नेपालमा पनि त्यस्तो वातावरण बनोस् भन्ने कामना गर्दछु ।