काठमाडौं । तेस्रो त्रैमासमा एक दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा पाँच वाणिज्य बैंक र सात वटा वित्तीय संस्थालाई कारबाही गरिएको हो ।
नियम उल्लंघन गर्ने ५ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंकलाई कारबाही गरेको हो । यसमध्ये, चार्टर्डलाई तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा न्यूनतम प्रतिशत भन्दा कम प्रवाह गरेको भन्दै १४ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्र बैंकले कर्जालाई सुक्ष्म निगरानीमा नराखेको, भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना निर्देशन पालना नगरेको र चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनका व्यवस्थाहरुको पूर्ण पालना गरेको भन्दै वाणिज्य बैंक र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ ।
यता, लक्ष्मी सनराइज बैंक कर्जा जोखिम व्यवस्थापनमा गम्भिर नरहेको पाइएको छ । संस्थापकको कल खाता तथा चालु खाता सञ्चालन गरी चालु खातामा दैनिक मौज्दात रकम ऋणात्मक रही नियम विपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ ।
साथै, चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरुलाई समेत बलुनिङ किस्ता कायम गरेको राष्ट्र बैंकले आरोप लगाएको छ ।
यस्तै, लक्ष्मी सन्राइज बैंकमा २ प्रतिशत सेयर रहेका एक संस्थापकले राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक सेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण लिएको र लक्ष्मी सनराइजले ऋणको अभिलेख पनि नराखेको राष्ट्र बैंकले जनाएको छ । यी सबै नियम विपरीत कार्य गरेकोमा लक्ष्मी सनराइजका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।
यता, नेपाल बैंकले रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरु बीच आपसी समन्वय गर्नरगराउन नसकेको देखिएकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
साथै, बैंकका सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा। चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा लिएको पाइएपछि ५ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वित्तीय संस्थामध्ये तेस्रो त्रैमासमा पोखरा फाइनान्स र जानकारी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ । पोखरा फाइनान्सलाई उच्च निष्क्रिय कर्जा भएको र पुँजीकोष अनुपात समेत पूरा नगरेको भन्दै शीघ्र सुधारात्मक सम्बन्धी कारबाही समेत गरिएको छ । २०८१ पुस मसान्तमा संस्थाको निष्क्रिय कर्जा ३३।४४ प्रतिशत रहेको थियो । फाइनान्सलाई ६ महिना भित्र उक्त अवस्था सुधार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, जानकी फाइनान्सलाई पनि २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ९ग० बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उता, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको छ भने फाइनान्सलाई ४६ हजार ७१८ रुपैयाँ जरिवाना गरिएको छ । संस्थाले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा तथा गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै जरिवाना गरिएको हो ।
मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजक भएको भन्दै “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा बस्न नपाउने” व्यवस्था जानकारी गराउँदै यसमा सचेत गराएको हो ।
नारायणी डेभलपमेन्ट बैंकले तोकिएको भन्दा धेरै निक्षेप संकलन गरेको तथा तोकिएको अनुपातमा पुँजीकोष कायम गर्न नसकेको उल्लेख गरिएको छ । आगामी असार मसान्तमा तोकिएको पुँजीकोष कायम गर्न निर्देशन दिइएको छ । साथै बैंकले पटक पटक नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी राष्ट्र बैंकले जनाएको छ ।
सालपा विकास बैंकले तोकिएको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम नगरेको उक्त पुँजी पुर्याउने सन्दर्भमा पटक पटक दिइएका निर्देशनहरूको कार्यान्वयन नगरेको भन्दै सञ्चालक समितिलाई नसिहत दिइएको उल्लेख गरिएको छ ।
गोर्खाज फाइनान्सको सञ्चालक समितिले समयमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको तथा सञ्चालकहरूबीच समझदारी नभई संस्थाको कार्य वातावरण बिग्रिने अवस्था रहेको भन्दै अध्यक्ष गौरव बुढाथोकी तथा सञ्चालकहरू युवराज राई, नरेन्द्र कुमार अग्रवाल, निलम बोहरा र कल्पना खापुङ्गलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।







