काठमाडौँ । रसुवामा गए राति आएको बाढीले पुल, सडक, घर तथा मान्छेहरू बगाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईंकुण्ड गाउँपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको हो । त्यहाँ रहेका गाडीहरू समेत बगाएको प्रहरीको भनाई छ।
‘केही मान्छेहरू पनि बगाएको भन्ने खबर आएको र क्षतिबारे यकिन जानकारी दिन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । साथै, चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
‘प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरू बगाएको भन्ने छ । त्यहाँ केही मानिसहरू पनि फसेको जानकारीमा आएको छ । उद्धार टोली परिचालित भएको छ,’ प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।







