काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएका छन् ।

मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ । बैठक टुङ्गिएपछि आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैकले जनाएको छ । बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो।

नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ। वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन। ऋणीहरूको ऋण तिर्ने क्षमतामा ह्रास आइरहेको छ ।

ऋणीले समयमै साँवा ब्याज तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको पनि खराब कर्जा बढिरहेको छ । यस्तो अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्था दुवै पक्षलाई राहत हुने गरी मौद्रिक नीति खुकुलो गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले हिजो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए। हिजै साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग पनि उनले छलफल गरेको र हिजै साँझ नै तयारी सञ्चालक समितिको बैठक बसेको राष्ट्रबैंकले जनाएको छ ।