फाइल फोटो

काठमाडौँ । हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सोही गाउँपालिका(५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप दुर्घटनामा परी घाइते भएका जिप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

एकै पटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटक पटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीको भनाई छ । दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको भने उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।