काठमाडौँ। अब काठमाडौँ महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरू धूम्रपान निषेध गर्न नपाइने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरू धूम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने तयारी भएको जानकारी दिएका छन् ।
पाण्डेले सार्वजनिक स्थलहरूमा धूम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । साथै, ‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्त्वपूर्ण ऐनहरू पास भएको र जसअन्तर्गत प्रशासनिक दण्ड जरिवाना र जफत शीर्षकमा केही जरिवानाहरू पास गरिएको समेत बताएका छन् ।
विशेषगरि महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरू सडकदेखि लिएर निजी सम्पत्ति बाहेकका क्षेत्रमा धूम्रपान निषेध गरिएको छ । साथै, तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ् गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाइकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि पाण्डेको भनाई छ ।
साथै ,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवाना र गल्ती दोहोरिएमा प्रति पटक दोब्बर हुने निर्णय भएको उनको भनाई छ ।







