काठमाडौँ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा देशभरि जग्गाको कारोबारमा कमी आएको छ। गत साउन महिनाको तुलनामा यस वर्ष कारोबार २० प्रतिशतले घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ को साउनमा देशभर १ लाख २७ हजार २०६ वटा जग्गासम्बन्धी कारोबार भएको थियो। तर, चालू आवको साउनमा भने यो सङ्ख्या घटेर १ लाख ४ हजार २१८ मा झरेको विभागको तथ्यांकमा उल्लेख छ ।

कित्ताकाटमा गरिएको कडाइ, साउन महिनामा बैंकहरूले नयाँ ऋण प्रक्रिया सुरु गर्ने भएकाले कारोबारमा कमी आएको विज्ञहरूको भनाई छ । करिब ५ सय स्थानीय तहले अझैसम्म जग्गाको वर्गीकरण गरेका छैनन् । सरकारले आर्थिक वर्ष २०८१/८२ मा मालपोत शुल्कबाट कुल ५१ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा साउनदेखि फागुनसम्म २५ अर्ब ४३ करोड राजस्व उठेको थियो।

देशभर कुल १ करोड १४ लाख ६७ हजार ३८२ जग्गाधनी छन् । जसमध्ये आर्थिक वर्ष २०८०/८१ मा जग्गा कारोबारमा संलग्न पुरुष र महिलाको सङ्ख्या करिब बराबरी थियो। यो वर्ष ४ लाख २४१ जना महिलाले र ४ लाख ३ हजार ४५१ जना पुरुषले जग्गा कारोबार गरेका थिए । देशभर कुल ३ करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा रहेकोमा पुरुषको नाममा २ करोड २० लाख कित्ता र महिलाको नाममा ९७ लाख कित्ताभन्दा बढी जग्गा रहेको विभागले जनाएको छ ।