काठमाडौं नेपाल राष्ट्र बैंकले आगामी धन्तेरस पर्वलाई लक्षित गर्दै चाँदीका विशेष सिक्का बिक्री सुरु गरेको छ। काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित १० ग्राम तौलका सिक्का बिक्री थालिएको हो। बैंकले प्रत्येक सिक्काको मूल्य ३२ सय रुपैयाँ निर्धारण गरेको छ।

यस वर्ष भने सुनको असर्फी बिक्री नहुने भएको छ। टक्सार महाशाखाका अनुसार, राष्ट्र बैंकले हरेक वर्ष धन्तेरसको अवसरमा सुन र चाँदीका सिक्का विक्री गर्दै आएको भए पनि, यस वर्ष केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने निर्णय नगरेका कारण चाँदीका सिक्का मात्र बिक्री वितरण गरिएको हो।

सिक्का बिक्री सुरु भएसँगै सर्वसाधारणको भीड बबरमहलस्थित टक्सारमा देखिएको छ। भक्तजन र ग्राहकहरू लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईका प्रतीक अंकित सिक्का खरिद गरी शुभ साइतको दिनका लागि सुरक्षित गर्ने उद्देश्यले लाइनमा उभिएका छन्।

माग र चाडपर्वको भीडलाई ध्यानमा राख्दै पर्याप्त मात्रामा सिक्काको उत्पादन र आपूर्ति सुनिश्चित गरिएको टक्सार महाशाखाले जनाएको छ । राष्ट्र बैंकले धन्तेरसकाे परम्परागत आकर्षणलाई निरन्तरता दिँदै यस वर्ष पनि चाँदीका सिक्का बजारमा उपलब्ध गराएको हो । जसले धार्मिक विश्वाससँगै सुरक्षित लगानीको विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

                                                     तस्बिरमा हेर्नुहोस्