काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र उक्त बनेका संरचना प्रयोगकर्ताहरुलाई सात दिनभित्र बहालको बक्यौता तिर्न ताकेता गरेको छ ।

तोकेको समयमा बक्यौता नतिरे सम्पूर्ण भवन तथा सामान जफत गरिने चेतावनी सार्वजनिक गरिएको छ । नेपाल स्काउटले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ कि स्काउटको जग्गा र संरचना पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको “खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि” ले भाडामा सञ्चालन गर्दै आएको छ । तर उक्त कम्पनीले लामो समयदेखि भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको बताइएको छ।

त्यसैले स्काउटले ७ दिनभित्र बक्यौता तिर्न अन्तिम मौका प्रदान गरेको छ । सूचनामा उक्त समयावधिभित्र बहाल तिर्न नआएमा नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम तथा मुलुकको देवानी संहिता २०७४ को परिच्छेद १२, दफा ६१९, ६२०(४) र ६२१ अनुसार जग्गामा बनेका सम्पूर्ण भवन तथा सामान जफत गरिने भनिएको छ ।”

स्काउटले उक्त जग्गामा बनेका संरचनादेखि पनि रकम असुल नहुने हुँदा कम्पनीको घरजग्गा वा सम्पत्ति समेत जफत गरेर असुल गर्न सकिने चेतावनी दिएको छ ।

उक्त जग्गा कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड प्रालिले कब्जा गर्दै आएको आरोप अघिदेखि नै उठ्दै आएको छ । स्काउटले यसपटकको ताकेता सार्वजनिक गरेर जग्गाको स्वामित्व र उपयोगबारे आफ्नो अधिकार पुनः स्थापित गर्ने संकेत गरेको देखिन्छ ।